निजी क्षेत्रमार्फत् अब वैधानिक रूपमै नेपालीहरू कतार प्रहरीमा भर्ना हुन जान पाउने भएको अधिकारीहरूले बताएका छन् ।

तर पहिले आफ्नो प्रहरीमा नेपाली नागरिक लिन इच्छुक कतारको “पछिल्लो मनस्थिति“ के छ भन्ने थाहा नभएकाले त्यसबारे अन्योल कायमै रहेको नेपाली अधिकारीको भनाइ छ । केही महिनाअघि कतारले करिब १० हजार नेपाली नागरिकलाई आफ्नो प्रहरीमा भर्ना गर्न चाहेको विवरणका समाचार सार्वजनिक भएका थिए । यद्यपि नेपालमा कतिपय म्यानपावर कम्पनीहरूले स्वीकृति नलिइकन “आफूखुसी रकम उठाएर“ बदमासी गरेको भन्दै वैदेशिक रोजगार विभागले केही म्यानपावर कम्पनीमा हस्तक्षेप गरेको थियो । उसले गत चैतमा सूचना नै प्रकाशित गरेर कतार प्रहरीमा भर्ना गरिदिने बहानामा ठगी हुनसक्ने भन्दै सचेत हुन सबैलाई आग्रह गरेको थियो ।

नयाँ निर्णय
अधिकारीहरूका अनुसार यही असार पहिलो साता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निजी क्षेत्रबाट कतार प्रहरीका लागि माग आएमा त्यसलाई प्रमाणीकरण गर्न कतारस्थित नेपाली दूतावासलाई निर्देशनात्मक पत्र पठाएको हो । मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले भने, “कतारमा सुरक्षाकर्मीका रूपमा रोजगारी दिने भनेर कतारले भनिसकेपछि कतारस्थित राजदूतावासमा कतार सरकारले त्यो पत्राचार ग¥यो । राजदूतावासले केही प्रश्नहरू राखेर हामीसँग निर्देशन मागेको अवस्था थियो ।“ “त्यो अवस्थामा नेपाल सरकारको तर्फबाट मन्त्री स्तरीय निर्णयबाट त्यो पत्रको निर्देशनात्मक जवाफ पठाएको हो ।“ तर उनले कस्तो निर्देशनात्मक जवाफ भन्नेबारे खुलाउन चाहेनन् । त्यसबारे कतारस्थित नेपाली राजदूत नारदनाथ भारद्वाजलाई जिज्ञासा राख्दा उनले “सरकार–सरकारबीच सम्झौता नभए पनि निजी क्षेत्रबाट कतार प्रहरीमा नेपालीलाई पठाउन दिने“ पत्र प्राप्त भएको बताए । उनले भने, “कामदारको सबै कुरा निजी क्षेत्रले गर्ने हो हामीले त प्रमाणीकरण मात्र गर्ने हो ।“

कतार प्रहरीमा माग
करिब चार महिनाअघि नै कतारको आन्तरिक मन्त्रालयले दुई सय जनालाई प्रहरीमा भर्ना गर्नका निम्ति भन्दै नेपाली दूतावासलाई पत्र पठाएको भारद्वाजले बताए । तर नेपाल र कतारबीच सन् २००५ मा भएको श्रम सम्झौताअन्तर्गत सैन्य सेवामा काम गर्नेबारे केही नभएकाले निर्णय हुन नसकेको अधिकारीहरूको भनाइ छ । त्यसबारे दूतावासले निर्णय गर्न नसकेपछि कामदार प्रमाणीकरण गर्ने कि नगर्ने भन्नेबारे उसले मन्त्रालयलाई पत्राचार गरेको थियो । त्यसपछि सरकार–सरकार सम्झौता गरेर मात्र कतार प्रहरीमा नेपालीलाई पठाउने भन्नेबारे सरकारी निकायबीच छलफल चलेको बुझिएको छ । तर पछि मन्त्रालयले सन् २००५ कै सम्झौतामा आधारित भएर नेपाली नागरिकलाई निजी क्षेत्रबाट पठाउन दिने निर्णय गरेको हो ।

अन्योल
अहिले निर्णय आए पनि अब तत्कालै कतारले थप प्रहरीका लागि नेपाली नागरिक माग गर्छ कि गर्दैन भनेर भन्न सकिने अवस्था नभएको अधिकारीको भनाइ छ । भारद्वाजले भने, “कतार सरकारले अहिले केही फलोअप पनि नगरेको अवस्था छ । पहिले यहाँको आन्तरिक मन्त्रालयले माग पत्र पेस गरेको हो– दुईसय जनाका लागि ।“ “उहाँहरूले त्यसको फलोअप गर्नुभएको छैन र अहिलेको अवस्था के हो भन्ने पनि हामीलाई जानकारी छैन ।“ उनले अब पुनः कतार सरकारका तर्फबाट माग आएमा प्रमाणीकरण गर्न सकिने बताए ।

कतार प्रहरीमा नेपाली
कतारले पहिले गरेको मागअनुसार उसले करार सेवामा तीन वर्षका लागि नेपाली नागरिकलाई प्रहरीमा भर्ना गर्न खोजेको देखिएको राजदूत भारद्वाजले बताए । उनका अनुसार त्यसमा “सब्जेक्ट टु एक्सटेन्सन“ अर्थात् समय बढाउन सकिने भनिएको छ । त्यसको अर्थ राम्रो काम गर्नेको अवधि थप पनि बढ्न सक्छ । “यो भनेको कतारको कोर पुलिस फोर्सका रूपमा काम गर्ने होइन । सहायक शक्तिका रूपमा काम गर्ने हो,“ उनले भने । पहिले नै कतार प्रहरीमा भर्ना भएका करिब दुई सयजना नेपालीहरू अहिले पनि त्यहाँ कार्यरत रहेको भारद्वाजले जानकारी दिए । उनका भनाइमा त्यहाँ कार्यरत नेपालीले हतियार बोक्नु परेको छैन तर शान्ति सुरक्षा कायम गराउन कतारको प्रहरीको सहायकको रूपमा कार्यरत छन् ।

तलब
कतार प्रहरीमा भर्ना हुनका लागि उमेरको हद १८ देखि ३५ वर्ष तोकिएको छ । ५ फिट ७ इन्च उचाइका पुरुषका लागि मात्र मागपत्र पेस भएको दूतावासले जनाएको छ । प्रहरीमा भर्ना भएर तालिम सकेपछि नेपालीहरूले मासिक ६ हजार कतारी रियाल अर्थात् करिब दुई लाख रुपैयाँ नेपाली तलब पाउने बताइएको छ । भारद्वाज भन्छन्, “यो धेरै राम्रो अवसर हो। नेपाली अहिलेसम्म मजदुरका रूपमा मात्र काम गर्न आएकामा प्रहरीमा पनि काम गरेपछि नेपालीको छविमा पनि फरक पर्छ ।“ कतार प्रहरीमा नेपालीको भर्नाबारे बीबीसीले त्यहाँको आन्तरिक मन्त्रालय र मन्त्रीलाई समेत इमेलमार्फत् गत हप्ता प्रश्न सोधेको थियो । तर अहिलेसम्म त्यसको जवाफ बीबीसीले प्राप्त भएको छैन ।

नेपाली कामदारको गन्तव्यका रूपमा कतार
श्रम मन्त्रालयका अनुसार कतार नेपाली श्रमिकहरूको सबैभन्दा रोजाइमा पर्ने मुलुकमध्ये एकमा पर्छ । नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२० मा भनिएको छ, “पुरुष युवा श्रमिकहरूमध्ये सन् २०१७÷१८ मा मलेसिया र २०१८÷१९ मा कतार बढी छनोटको गन्तव्य मुलुकका रूपमा रहेको थियो ।“ उक्त प्रतिवेदन अनुसार कतारमा हाल चार लाखभन्दा बढी नेपाली कामदारहरू रहेका छन् । -बीबीसीबाट