नवलपुरः चारवटा गैँडा मारेको घटनामा संलग्न रहेको अभियोगमा अनुसन्धान थालिएका एक व्यक्तिलाई अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
अदालतको आदेशपछि राजमान मगर भनिने राजमान थापा मगर कारागार चलान भएका छन् । उनीमाथि चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मारेको अभियोगमा मुद्दा चलाइएको थियो । चालु आर्थिक वर्ष २०७७÷०७८ मा निकुञ्जमा चोरी शिकारीका कारण मरेका चार वटा गैँडासँग सम्बन्धित मुद्दाका फरार प्रतिवादीलाई अदालतले आइतबार जेल चलान गर्न आदेश दिएको हो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–३ का ३० वर्षीय मगरलाई अदालतको आदेशपछि आइतबार पूर्पक्षका लागि जेल चलान गरिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए ।
स्थानीय संरक्षणकर्मीहरुको सहयोगमा मगरलाई पक्राउ गरी नवलपुर जिल्ला अदालतसमक्ष हाजिर गराइएको अधिकारीको भनाइ छ । थापाको नाममा गैँडा मारेर खाग बिक्री गरेको आरोपमा नवलपुर जिल्ला अदालतमा दुई तथा चितवन जिल्ला अदालतमा एउटा मुद्दा दायर गरिएको अधिकारीले बताए । थापासहित यस वर्ष गैँडा मारेको अभियोगमा २७ जनालाई पक्राउ गरी कानुनी कारबाही गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । -रासस