धरानः केही समय अघिदेखि आन्दोलनरत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका फ्याकल्टी, विद्यार्थी, कर्मचारीहरुले आज पनि विरोध प्रदर्शन गरी आन्दोलनको स्वरुप परिवर्तन गर्दै रिले अनसनको घोषणा गरेका छन् ।

फ्याकल्टी वेल्फेयर सोसाइटीका पुर्वअध्यक्ष एवं संयुक्त संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले बिरामीहरुको उपचार सेवा प्रभावित नहुनेगरी रिले अनसन सुरु गरिने बताए । आन्दोलनलाई कडा बनाउन रिले अनसन सुरु गर्न लागिएको हो । उनले आन्दोलनलाई प्रतिष्ठानले बेवास्ता गरिरहे आमरण अनसन पनि गर्ने चेतावनी दिएका छन् । यस्तै, उनले प्रतिष्ठानलाई पारदर्शी बनाउनको लागि चार जना पदाधिकारी चढ्ने गाडीमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लेख्ने पनि घोषणा गरे । गाडी दुरुपयोग हुन नदिन बीपी प्रतिष्ठानको नाम लेख्ने घोषणा गर्दै उनले यसले गाडीको दुरुपयोग आधाभन्दा कम हुने दाबी गरे ।

bp aandolan1

 

संघर्ष समितिले तीन पदाधिकारीहरु रेक्टर प्रा.डा.गुरु खनाल, रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलाई प्रतिष्ठानले दिएको सार्वजनिक सवारी साधनको चाबी जफत गरिसकेको छ । उपकुलपति डा.ज्ञानेन्द्र गिरी काठमाडौँमा गएकोले उनको गाडीको चाबी भने जफत गरिएको छैन । प्रतिष्ठानका विद्यार्थी प्रतिनिधि अमृत जैसीले तालाबन्दीसम्मको कार्यक्रम तय गरिएको उद्घोष गर्दै ताला पनि किनिसकेको बताए ।