इटहरीः मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको सेवा अनिश्चिकालका लागि बन्द भएको छ ।

अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीसहित १२ जनामा एकैसाथ कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा बसेपछि अस्पतालको सेवा अनिश्चितकालका लागि बन्द गर्नु परेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.दिव्य खनालले जानकारी दिए । आफूसहित अर्का एक चिकित्सक, नर्स, ल्याब कर्मचारी र कार्यालय सहयोगी गरी १२ जना संक्रमित भई होम आइसोलेसनमा रहेको उनको भनाइ छ । सबै संक्रमितहरुले पहिले नै कोभिड विरुद्धको खोप लगाइसकेकाले गम्भीर लक्षण नदेखिएको उनले प्रष्ट पारे ।

१५ शैयासहितको उपचार सेवा प्रदान गरिरहेको अस्पतालले कोरोना संक्रमितका लागि १२ शैयाको आइसोलेसन सेन्टरसमेत सञ्चालनमा ल्याएकोमा स्वास्थ्यकर्मी संक्रमित भएपछि अस्पतालको सेवा नै प्रभावित भएको हो । यद्यपि, अस्पतालको आकस्मिक सेवा भने यथावत रहेको निमित्त मेसु डा.खनालले जानकारी दिए । प्रदेश सरकारले सो अस्पतालको क्षमता बढाई ५० शैया पुर्याउने लक्ष्य राखेको छ ।