इटहरीः सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ६ की वडा सदस्य लक्ष्मी चौधरीको एकपछि अर्को विवादास्पद गतिविधि बाहिर आउन थालेको छ ।
केही समयअगाडि वडाको बजेटमा चरम भ्रष्टाचार गरेको भन्दै उनीसँग स्थानीयले वडा कार्यालयमा नै पुगेर स्पष्टिकरण मागेका थिए । एक सातामा लिखित जवाफ दिन वडा कार्यालयले निर्देशन दिएपछि स्थानीयवासी आस्वस्त हुँदै घर फर्किएका थिए । अहिले पुनः उनले गत वर्षको कोरोना महामारीको समयमा दिइएको राहतमा हालिमुहाली गरेको पाइएको छ । सरकारी राहतमा आफन्तसँगको साँठगाँठमा वास्तविक पीडितलाई दिनुको सट्टा आफ्नै आफन्तलाई वितरण गरेको पाइएको छ । यस्तै वडावासीलाई राहतको आवश्यकता हुँदा हुँदै पनि राहत भण्डारण गरेर राखिएको पाइएको छ । त्यसमा पनि अहिले धेरै राहत सामग्री गायव भएको छ ।
अहिले यस विषयलाई लिएर धेरैले विरोध गरिरहेका छन् । गत वर्ष वितरण गरेर बाँकी रहेको एक हजार एक सय ९५ किलो चामलमध्ये अहिले ४ सय किलो मात्र बाँकी रहेको खुलेको छ । त्यसमा पनि कतिपय मुसाले खाएको छ भने कतिचाहिँ कुहिएर गएको छ । सो समयमा राहत वितरणको संयोजकसमेत रहेकी लक्ष्मीले तेल र साबुन पनि गायव बनाएको खुलेको छ । गत वर्ष वितरण गरेर बाँकी रहेको ६५ लिटर तेलमध्ये अहिले गोदाममा ७ लिटर मात्र तेल भेटिएको छ । यस्तै ७२ पिस सबुन हुनुपर्नेमा ५२ पिस मात्र रहेको छ । नेपाली कांग्रेसका भातृ संगठनहरु नेपाल दलित संघ, नेपाल महिला संघ र नेपाल मुस्लिम संघले आइतबार पत्रकार सम्मेलन गर्दै सरकारको राहतमा आफन्तसँग साँठगाँठ गरेर लक्ष्मीले आवश्यक पर्नेलाई राहत नै नदिएको बताएका छन् । यस विषयमा छानबिन हुनुपर्नेसमेत उनीहरुको माग रहेको छ ।