इटहरीः मोरङको विराटनगरस्थित बालसुधार गृहबाट फरार भएका सबै बाल विज्याइँकर्ता प्रहरीको नियन्त्रणमा आएका छन् ।

हिजो बिहान २ः५५ बजे सुधार गृहबाट चार जना बाल बिज्याइँकर्ता फरार भएकोमा एक जना तत्कालै नियन्त्रणमा आएका थिए । सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार जबर्जस्ति करणी अभियोगमा १० वर्ष कैद सजाय निर्धारण भई सुधार गृहमा रहेका झापाका बाल बिज्याइँकर्तालाई फरार भएलगत्तै नियन्त्रणमा लिइएको थियो । अन्य तीन जना बाल बिज्याइँकर्ताहरु भने आज बिहान ९ः१५ बजे नोबेल मेडिकल कलेज शिक्षण अस्पतालनजिकै रहेको चिया पसलबाट नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मोरङका निमित्त प्रमुख प्रहरी नायबउपरीक्षक (डिएसपी) मञ्जिल मुकारुङले बताए । प्रहरीको नियन्त्रणमा आएका तीन जनामध्ये दुई जबर्जस्ति करणी मुद्दामा पाँच र १२ वर्ष सजाय भोगिरहेका बाल बिज्याइँकर्ता रहेका छन् ।

अर्का एक जना बाल बिज्याइँकर्तालाई भने विष्फोटक पदार्थसम्बन्धी कसुरमा पुर्पक्षका लागि सुधार गृहमा राखिएको प्रमुख चौहानले बताए । नियन्त्रणमा आएका बालबिज्याइँकर्ताहरु संखुवासभा, उदयपुर र ओखलढुङ्गाका हुन् । गृहका प्रमुख चौहानले भने प्रहरीको गल्ति नभई कमजोर संरचनाका कारण बाल बिज्याइँकर्ता फरार भएको बताए । उनका अनुसार फरार भएका सबै बाल बिज्याइँकर्ताहरु कोरोना संक्रमणबाट भर्खरै मुक्त भएकाले उनीहरुलाई छुट्टै कोठामा राखिएको थियो । ५० जनाको क्षमता रहेको सुधार गृहमा एक सय ९५ बाल बिज्याइँकर्तालाई राख्नुपर्दा समस्या भएको प्रमुख चौहानले बताए । हाम फालेर भाग्ने क्रममा बाल बिज्याइँकर्ताहरुको हात, खुट्टा, ढाड लगायत शरीरका विभिन्न भागमा चोट लागेको पाइएको डीएसपी मुकारुङले बताए । नियन्त्रणमा लिइएका सबै बाल बिज्याइँकर्ताहरुलाई उपचारार्थ कोसी अस्पताल पठाइएको बताउँदै मुकारुङले उपचारपछि आवश्यक समन्वय गर्दै उनीहरुलाई पुनः बालसुधार गृहमा लगेर राखिने जानकारी दिए ।