इटहरीः सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी जवानमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सुनसरीको सीतागञ्जस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान कसिन्दर यादवमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको हो । हिरासतमा रहेका अभियुक्तलाई छुटाइदिने भन्दै प्रहरी जवान यादवले ६० हजार रुपैयाँ घुस माग गरेको उजुरीका आधारमा अख्तियारको इटहरीस्थित सम्पर्क कार्यालयबाट परिचालित टोलीले घुससहित उनलाई गत चैत २६ गते पक्राउ गरेको थियो ।
पक्राउ परेका यादवमाथि ६० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम जरिवाना र कैद सजाय माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम मुद्दा दायर गरिएको प्रवक्ता रिसालले जानकारी दिए ।