इटहरीः खुकुरी प्रहार गरी बाबुको हत्या गरेको आरोपमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ स्थित गल्छेढुङ्गाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही वडाको सोल्मा भन्ने स्थानमा घर भएका २८ वर्षीय सुवर्ण राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार अभियुक्त राईउपर आफ्ना ७२ वर्षीय बाबु चन्द्रबहादुरलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ । खुकुरी प्रहारबाट चन्द्रबहादुरको ज्यान गएपछि स्थानीयको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले अभियुक्त राईलाई नियन्त्रणमा लिएको एसपी श्रेष्ठले जानकारी दिए । पक्राउ परेका अभियुक्तउपर कर्तव्य ज्यान मुद्दामा कारबाहीका लागि हिरासतमा राखी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।