इटहरीः मोरङको सुनवर्षी नगरपालिका ४ बाट प्रहरीले बाबुको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ घर भएका ४० वर्षीय दयालु ताजपुरिया रहेको जिल्ला प्रहरी कार्यालय मोरङका निमित्त प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) मञ्जिल मुकारुङले बताए । उनका अनुसार अभियुक्त दयालुउपर आफ्ना ६८ वर्षीय बाबु टिनताल ताजपुरियालाई ढुङ्गा प्रहार गरी हत्या गरेको आरोप छ । अभियुक्त दयालुले मदिरा सेवन गरी टिनताललाई शनिबार बिहान ६ बजे सुतेकै ठाउँमा ढुङ्गा प्रहार गर्दा टिनताल गम्भीर घाइते भएका थिए । घाइते टिनताललाई उपचारार्थ विराटनगरस्थित कोसी अस्पताल पठाइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि चिकित्सकले सुविधासम्पन्न अस्पतालमा रेफर गरेका थिए ।
तर आर्थिक अभावमा सुविधासम्पन्न अस्पताल लान नसकेपछि घरमै राखिएका टिनतालको आज बिहान ५ः३० बजे ज्यान गएको डीएसपी मुकारुङले उल्लेख गरे । टिनतालको मृत्यु भएपछि हत्यामा संलग्न छोरा दयालुलाई इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृतवको टोलीले नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दा चलाउन जिल्ला अदालतको आदेशमा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । मदिरा सेवनको विषयमा भएको विवादपछि हत्या भएको प्रहरीको भनाइ छ ।