इटहरी: मोरङको उर्लाबारी नगरपालिका क्षेत्रस्थित एक होटलबाट प्रहरीले चोरीको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको धरान उप–महानगरपालिका १५ घर भएका अमृत लिम्बू रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार अभियुक्त लिम्बूउपर असार ८ गते बेलबारी नगरपालिका ८ घर भई हाल पथरीशनिश्चरे नगरपालिका १ मा टाटु खोप्ने पसल सञ्चालन गर्दै आएका ३६ वर्षीय विशाल ईस्कन सेनको पसलबाट चार लाख रुपैयाँ बराबरका सामान चोरी गरेको आरोप छ ।

चोरी गरिएका सामानसहित पक्राउ परेका अभियुक्तको साथबाट एक थान ल्यापटप, ट्याटु बनाउने मेसिन २ थान, ट्याटु बनाउँदा लगाउने केमिकल, विद्युत पावर सप्लाई उपकरण लगायतका सामान बरामद गरिएको एसपी श्रेष्ठले बताए । पक्राउ परेका अभियुक्त लिम्बूलाई चोरी मुद्दामा कारबाहीका लागि जिल्ला अदालतको आदेशमा हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।