धरानः गएराति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ता तारा शाक्यको निधन भएको छ ।
उनी केही दिनअघिदेखि बिरामी थिइन् । कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएको भएपनि कोभिड परीक्षण नगरी उनी धरान–१५ स्थित आफ्नै घरमै बसेकी थिइन् । अक्सिजन लेबल घटेपछि घरमै अक्सिजन लिएर बसेकी थिइन् । गएराति स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि बीपी प्रतिष्ठान पुर्याइएको थियो । उपचारको क्रममा उनको निधन भएको हो । उनी नेवाः देय् दबू सुनसरी जिल्ला प्रतिनिधि, नेवार एकता समाजको संस्थापक महासचिव, नेपाल आदिवासी जनजाति महासंघ धरानकी उपाध्यक्षसमेत रहेकी थिइन् । विगतमा नेकपा एमालेनिकट मजदुर संगठनमा सक्रिय रहेकी उनी पछिल्लो समय भने राप्रपामा आबद्ध भएकी थिइन् । गएको निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदमा उनले उम्मेदवारीसमेत दिएकी थिइन् ।