इटहरीः तेह्रथुमको लालीगुराँस नगरपालिका–१ भुल्केबाट भरुवा बन्दुकसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सोही ठाउँका ३५ वर्षीय मनोज गुरुङ, ३४ वर्षीय प्रेम गुरुङ र ३६ वर्षीय रामबहादुर गुरुङ रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बन्दुकसहित पक्राउ गरेको हो । प्रहरीलाई देखेर भागेपछि चेकजाँच गर्दा भरुवा बन्दुक बरामद भएको एसपी श्रेष्ठले बताए ।

पक्राउ परेका तीनै जना अभियुक्तहरुउपर हातहतियार तथा खरखजाना मुद्दामा कारबाहीका लागि जिल्ला अदालतको आदेशमा हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।