इटहरीः मोरङको विराटनगरस्थित बाल सुधार गृहबाट आज बिहान २ः५५ बजे चार जना बाल बिज्याइँकर्ता फरार भएका छन् ।
फरार हुनेहरुमध्ये एक जनालाई तत्कालै पक्राउ गरिएपनि अन्य तीन जना भने सम्पर्कविहीन भएको सुधारगृहका प्रमुख मिलन चौहानले बताए । उनका अनुसार १९ वर्ष उमेर समूहका बाल बिज्याइँकर्ताहरु सुधार गृहको तेस्रो तलाबाट हाम फालेर फरार भएका हुन् । फरार भएलगत्तै पक्राउ परेका एक बाल बिज्याइँकर्ता झापाका रहेको र उनीमाथि जबर्जस्ति करणीको आरोपमा १० वर्ष कैद सजाय निर्धारण गरिएको छ । फरार रहेका तीन जनामध्ये दुई जबर्जस्ति करणी मुद्दामा पाँच र १२ वर्ष सजाय भोगिरहेका बाल बिज्याइँकर्ता रहेका थिए । अर्का एक जना बाल बिज्याइँकर्तालाई भने विष्फोटक पदार्थसम्बन्धी कसुरमा पुर्पक्षका लागि सुधार गृहमा राखिएको प्रमुख चौहानले बताए । फरार बालबिज्याइँकर्ताहरु संखुवासभा, उदयपुर र ओखलढुङ्गाका हुन् ।
सुधार गृहबाट बाल बिज्याइँकर्ता फरार भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका निमित्त प्रमुख प्रहरी उपरीक्षक (डीएसपी) मञ्जील मुकारुङले बताए । उनका अनुसार सुधार गृहको सुरक्षार्थ परिचालित प्रहरी टोलीका कमान्डर प्रहरी सहायक निरीक्षक मानबहादुर बस्नेतसहित अन्य प्रहरीसँग सोधपुछ गरिएको छ । गृहका प्रमुख चौहानले भने प्रहरीको गल्ति नभई कमजोर संरचनाका कारण बाल बिज्याइँकर्ता फरार भएको बताए । उनका अनुसार फरार भएका सबै बाल बिज्याइँकर्ताहरु कोरोना संक्रमणबाट भर्खरै मुक्त भएकाले उनीहरुलाई छुट्टै कोठामा राखिएको थियो । ५० जनाको क्षमता रहेको सुधार गृहमा एक सय ९५ बाल बिज्याइँकर्तालाई राख्नुपर्दा समस्या भएको प्रमुख चौहानले बताए ।