इटहरीः लोकतन्त्र न्यायका लागि आमा समूह र आमा बचत तथा ऋण सहकारी सँस्था र महिला सञ्जाल इटहरीले संयुक्त रुपमा असमर्थहरुका लागि राहत वितरण गरेको छ ।
तरहरा युके समाजका तर्फबाट बलबहादुर राईको पहलमा बेलायतमा रहेका २५ जना नेपालीहरुबाट संकलित रकमबाट तरहरामा बस्ने ९८ परिवारलाई राहत वितरण गरिएको हो । आमा बचत तथा ऋण सहकारी सँस्था लिमिटेडकी अध्यक्ष, आमा समूहकी सँस्थापक अध्यक्ष, समाजसेवी, महिला अधिकारकर्मी तथा नेतृ कमला खड्काको समन्वयमा राहत उपलब्ध गराइएको हो । समन्वयकर्ता खड्काका अनुसार ९८ परिवारलाई एक हजार पाँच सय किलो चामल, १० कार्टुन तेल, एक सय किलो दाल, दुई सय किलो चिउरा र कोरोना संक्रमितहरुलाई ८० किलो कोदोको पिठो वितरण गरिएको हो ।
यसैगरी, सोही समूहले इटहरीमा सञ्चालित परोपकारी सँस्था माया घरका लागि पनि विभिन्न खाद्य सामग्री सहयोग गरेको छ । अभिभावकविहीन बालबालिका र ज्येष्ठ नागरिकहरुलाई आश्रय दिएको माया घरलाई दुई सय किलो चामल, २० किलो दाल, २० किलो चिउरा, १० किलो नुन, एक कार्टुन तेल र केही कपडा सहयोग गरिएको खड्काले जानकारी दिइन् ।