अमेरिकाको फ्लोरिडा राज्यको मयामी शहरमा १२ तले भवन भत्किँदा मृत्यु हुनेको संख्या चार र बेपत्ता हुनेको संख्या १५९ पुगेको छ ।
उक्त भवन स्थानीय समयअनुसार बिहीबार मध्य राति साढे १ बजे भवन भत्किएको थियो । उद्धारकर्मीहरुको टोलीले चौबिसै घण्टा काम गरिरहेको अधिकारीहरुले जनाएका छन् । उद्धारका क्रममा जमिनमुनी पुरिएका मानिसहरुको चिच्याहट सुनिएको उनीहरुले बताएका छन् । ४० वर्षअघि निर्माण भएको उक्त भवन कसरी भत्कियो भन्ने स्पष्ट भइसकेको छैन । भवन भत्किँदा कतिजना मानिस त्यहाँ थिए भन्ने पनि खुलेको छैन ।
राष्ट्रपति जो बाइडेनले फ्लोरिडाका लागि आपतकालीन अवस्था घोषणाको प्रस्ताव स्वीकृत गरेको छन् । अब फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (फिमा)ले राहत प्रयासमा फ्लोरिडालाई सहयोग गर्ने छ । सयौं उद्धारकर्मीहरुले सोनार क्यामरा तथा विशेष तालिम प्राप्त कुकुरहरुको प्रयोग गरेर भग्नावशेषमा फसेकाहरुको खोजी गरिरहेका छन् । -एजेन्सी