अमेरिकामा कोरानाविरुद्धको खोप लगाएका किशोरावस्था तथा युवा उमेरकामा मुटुसम्बन्धी समस्या देखाएको जनाएको छ ।

अमेरिकामा सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले गरेको एक अनुसन्धानले कोरानाविरुद्धको खोप लगाएका ३० वर्ष वा सोभन्दा कम उमेरका १२ सयभन्दा बढीमा मुटुसम्बन्धी समस्या (मायोकार्डाइटिस वा पेरिकार्डाइटिस) भएको पाइएको हो । फाइजर तथा मोडर्नाको खोप लिएका मानिसमा सो समस्या देखिएको हो ।

मायोकार्डाइटिस मुटुको मांसपेशीको सुन्निने समस्या हो, जब कि पेरिकार्डाइटिस हृदयको वरिपरि पाइने छाला सुन्निने समस्या हो । खोपको डोस्रो डोज लिएका धेरैजसोमा एक साताभित्र छाती दुख्ने, सास फेर्न गाह्रो हुनेजस्ता सामान्य लक्षण देखापरेको थियो । ११ जुनसम्मको तथ्याङ्कअनुसार खोपको पहिलो डोज लिएका दुई सय ६७ जनामा मायोकार्डाइटिस वा पेरिकार्डाइटिसको समस्या देखिएको हो ।

त्यस्तै, खोपको डोस्रो डोज लिएका आठ सय २७ जनामा मुटुको समस्या देखियो । एक सय ३२ जनामा भने खोपको पहिलो वा दोस्रो डोज भनेर थाहा नभएको बताइएको छ । सिडिसीका अनुसार दुबै खोपको समग्र तथ्याङ्क निकाल्दा १० लाखमध्ये १२ देखि १३ जनामा (१२.६) मुटुमा समस्या देखिएको पाइएको हो ।

तुलनात्मक रूपमा मोडर्नाको खोप लिएका १० लाखमध्ये १९.६ लाई र फाइजरको खोप लिएका एक लाख मानिसमध्ये आठ जनालाई मुटुसम्बन्धी समस्या देखिएको थियो । ३० वर्षभन्दा कम उमेर समूहका युवामा यस्तो समस्या बढी देखिएको छ भने समस्या विकास गरेकामध्ये ७५ प्रतिशत मानिस निको भइसकेका छन् ।

खोप लगाएपछि मुटुसम्बन्धी समस्या देखिएका युवाको सङ्ख्या निकै कम भएको बताइएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण पनि मायोकार्डाइटिस वा पेरिकार्डाइटिसको जोखिम बढी हुने हुन्छ । -सीएनबीसीबाट