इटहरीः कक्षा ११ र १२ का विद्यार्थीहरुको परीक्षा फारम बुझाउने म्याद राष्ट्रिय परीक्षा बोर्डले थप गरेको छ ।
यसअघि चैत मसान्तसम्म फारम बुझाइसक्नुपर्ने व्यवस्था गरिएकोमा कोरोना महामारीका कारण उत्पन्न असहज परिस्थितिका कारण म्याद थप गरिएको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पोख्रेलले जानकारी दिए । उनका अनुसार अब विद्यार्थीहरुले असार २० गतेसम्म फारम बुझाउन पाउने भएका छन् । असार २० गतेसम्म फारम बुझाउँदा दस्तुर भने दोब्बर तिर्नुपर्ने उनले प्रष्ट पारे ।
उनका अनुसार रजिष्ट्रेसनका लागि आठ सय र परीक्षा आवेदनका लागि एक हजार दुई सय रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम सम्बन्धित विद्यालयहरुले राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरुमा बुझाउने व्यवस्था मिलाइएको उनले बताए । कक्षा १२ मा नियमित, आंशिक ÷ ग्रेडवृद्धि रजिष्ट्रेसन नम्बरका सुरुका दुई अङ्क ७० वा सोभन्दा माथि र कक्षा ११ को सुरुका दुई अंक, ७०, ७१, ७२, ७३, ७४, ७५ र ७६ भएकाले फारम बुझाउन पाउने बोर्डले जनाएको छ ।