धरानः धरान उपमहानगरपालिकाको नवौं नगरसभाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को अनुमानित कुल बजेट २ अर्ब ३ करोड ६४ लाख रुपैयाँ प्रस्तुत गरेको छ । यो बजेट चालु आर्थिक वर्षभन्दा ३१ करोड २८ लाख ५६ हजार ५ सय रुपैयाँले बढी हो ।

चालू आर्थिक वर्षमा नगरले एक अर्ब ७२ करोड ३५ लाख ४३ हजार ५ सय रुपैयाँ विनियोजन गरेको थियो । बिहीबार आयोजित नगरसभामा उपप्रमुख मञ्जु भण्डारीले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा २० वटै वडालाई २८ करोड रुपैयाँ विनियोजन गरेको छ भने वडा कार्यालय भवन निर्माणको लागि थप रु १ करोड विनियोजन गरिएको छ । वडालाई दिइएको यो बजेट चालु आर्थिक वर्षको भन्दा ४ करोड रुपैयाँ बढी हो । मेयर कोषमा १ करोड २० लाख रुपैयाँ, मर्मत कोषमा ५० लाख रुपैयाँ, आकस्मिक कोषमा ३० लाख रुपैयाँ विनियोजन गरिएको छ भने चालु भैपरी आउने खर्चमा २० लाख रुपैयाँ र विपद व्यवस्थापन कोषमा १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यसैगरी, पर्यटनमा ३५ लाख रुपैयाँ, युवा तथा खेलकुदमा १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । नगरस्तरीय ६३ वटा आयोजनाहरुको लागि १८ करोड ३१ लाख रुपैयाँ विनियोजन गरिएको छ भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी कार्यक्रमको लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । कोरोना महामारी नियन्त्रणका लागि ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । स्वास्थ्यमा भने ४ करोड ७५ लाख रुपैयाँ रहेको छ । कर्मचारीलाई दैनिक एक सय २५ रुपैयाँ खाजा खर्च तोकिएको छ ।

व्ययतर्फ सामाजिक विकासमा १ करोड रुपैयाँ , आर्थिक विकासमा ९० लाख रुपैयाँ, वन वातावरण तथा विपद् व्यवस्थापनमा ५० लाख रुपैयाँ, सूचना तथा सञ्चारमा ३० लाख रुपैयाँ, साहित्य कला र सँस्कृतितर्फ २५ लाख रुपैयाँ, व्यवस्थित बसोबास तथा सुकुम्बासी व्यवस्थापनमा ५० लाख रुपैयाँ, मजदुर कल्याण कार्यक्रममा ५ लाख रुपैयाँ, कानून तथा न्याय सम्पादनमा २० लाख रुपैयाँ, सार्वजनिक जग्गा र जलाधार संरक्षणमा ७५ लाख रुपैयाँ, विमानस्थल जग्गा व्यवस्थापनमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नगरको आन्तरिक आयतर्फ २७ करोड १० लाख रुपैयाँ अनुमान गरिएको छ । संघीय समानीकरण अनुदान ३३ करोड ९२ लाख रुपैयाँ, प्रदेश समानीकरण अनुदान २ करोड १ लाख ४७ हजार रुपैयाँ, संघीय राजश्व बाँडफाँटका लागि १७ करोड ३ लाख ८६ हजार रुपैयाँ प्रस्तुत गरिएको छ ।

प्रदेश राजश्व बाँडफाँडमा १७ करोड ५१ लाख ९५ हजार सात सय ५० रुपैयाँ, संघीय ससर्त अनुदानमा ४६ करोड ४० लाख रुपैयाँको अनुमान गरिएको छ । संघीय समपुरक अनुदानमा ३ करोड ४६ लाख रुपैयाँ, संघीय विशेष अनुदानमा २ करोड ९९ लाख रुपैयाँ अनुमान गरिएको छ । यसैगरी प्रदेश सरकार ससर्ततर्फ २ करोड रुपैयाँ, धरान खानेपानी व्यवस्थापन बोर्डबाट १० करोड रुपैयाँ अनुमान गरिएको छ ।

नगरसभाको दोस्रो बैठक असार १९ गते

धरान उपमहानगरको नवौं नगरसभामा आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत भएपछि नगरसभा स्थगित भएको छ । नगरसभाको दोस्रो बैठक असार १९ गते सुनसरी उद्योग वाणिज्य संघको हलमा नै हुने भएको छ । नगरसभाको प्रदेश १ प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यमा उद्घाटन भएको थियो । त्यसपछि, विशेष अतिथि एवं प्रदेशसभा सदस्य उमिता बराइली र प्रमुख अतिथि एवं सभामुख भण्डारीले सम्बोधन गरेपश्चात् सभाध्यक्ष एवं मेयर तिलक राईले असार १९ गते बैठक बस्नेगरी स्थगित भएको घोषणा गरेका थिए ।

वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार यो बीचमा वडाहरुले आफ्नो योजना, कार्यक्रमहरु छनौट गरेर पेस गर्नुपर्नेछ भने महाशाखाहरुले पनि आफ्नो कार्यक्रम तयार गरेर बजेट समितिमा पठाउनुपर्नेछ । बजेट समितिले ती कार्यक्रम तथा योजनाहरुलाई कार्यपालिकाबाट पास गरेर आउँदो नगरसभाको बैठकमा पेस गर्नेछ । यस्तै, उपप्रमुख भण्डारीले पेस गरेको आर्थिक विधेयक, विनियोजन विधेयक, नीति तथा कार्यक्रमबारे सुझाव राख्न चाहने नगरसभा सदस्यहरुले असार १५ गतेसम्म नाम टिपोट गर्ने समय उपलब्ध गराएको पनि खतिवडाले बताए ।