इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका ४ स्थित निःसहाय बालबालिका सेवा आश्रमलाई अष्ट्रेलियामा रहेको एभरेस्ट ड्राइभिङ सेन्टरले खाद्यान्न सहयोग उपलब्ध गराएको छ ।

अस्ट्रेलियामा रहेका नेपाली व्यवसायी राजन खड्काद्वारा सञ्चालित सो ड्राइभिङ सेन्टरले आफूसँग सम्बद्ध प्रशिक्षकहरुबाट समेत रकम संकलन गरी आश्रममा आश्रित बालबालिकाहरुका लागि स्यार्लेक्स, ल्याक्टोजिन, चामल, दाल, तेल, पास्ताजस्ता खाद्यान्न सामग्री सहयोग गरेको हो । कोरोना भाइरसको महामारीका कारण व्यावसायिक गतिविधि ठप्पप्रायः हुँदा आश्रमलाई दाताहरुबाट सहयोग न्यून मात्रामा आएको र बालबालिकाका लागि खाद्यान्नको अभाव हुन थालेको समाचार विभिन्न सञ्चार माध्यमबाट सुनेपछि सो अभावलाई परिपूर्ति गर्दै बालबालिकाको संरक्षण गर्न आफूहरुले सहयोग हस्तान्तरण गरेको एभरेस्ट ड्राइभिङ सेन्टरका सञ्चालक राजन खड्काले बताए ।

au3

निःसहाय बालबालिका सेवा आश्रमः
निःसहाय बालबालिकाहरुलाई संरक्षण र सेवा गर्ने उद्देश्यले वि.सं. २०३९ सालमा एक अविवाहित तथा अभिवावकविहीन महिला गीता गौतमद्वारा इटहरी उप महानगरपालिकाको वडा नं.४ मा स्थापित भएको यस निःसहाय बालबालिका सेवा आश्रमले निःसहाय बालबालिकाहरुलाई जीवनदान दिएर भविष्य निमार्णमा सहयोग गरेको छ । जसका कारण करिब ३०० बालबालिकाहरुले संरक्षण पाउनुका साथै हजारौं गरीब तथा असहाय बालबालिकाहरुले अवसर पाएका छन् । २०६३ सालसम्म सञ्चालक गौतमले आश्रम सञ्चालनका लागि अपुग खर्चहरु आफ्ना पुख्र्यौली सम्पति बेचेर २८ वर्षको उमेरदेखि आश्रम सञ्चालन गर्दै आएकी हुन् । हालसम्म गौतम यस आश्रममा आफँै बसी आफ्नै नेतृत्वमा सञ्चालन गर्दै आएकी छन् ।

au2

प्रदेश १ को केन्द्रविन्दु मानिने इटहरी शहरको मुख्य चौकबाट उत्तरपूर्वको संगीत चौक हँुदै उत्तरतर्फ करीब पाँच सय मिटरको दूरीमा रहेको यो आश्रममा हाल ३८ जना बालबालिकाहरु संरक्षित छन् । एउटा सम्भ्रान्त परिवारले उसका छोराछोरीका लागि गर्नुपर्ने सबै कर्तव्यहरु पूरा गर्न आश्रमले कुनै कसर बाँकी राखेको छैन । बालबालिकाको शिक्षा, स्वास्थ्य तथा खानपानजस्ता कुराको सबैको उचित ख्याल राखेको छ । सीमित साधन र स्रोतका बावजुद पनि धेरै बालबालिकाहरुले स्थानीय बोर्डिङ तथा सामुदायिक विद्यालयबाट प्रवेशिका उत्तिर्ण गरी उच्च शिक्षासमेत हासिल गर्दै आएका छन् । उच्च शिक्षा लिन नचाहनेहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाई विवाहसमेत आश्रमले गर्दै आएको छ । हालसम्म २५ जना छोरी तथा ५ जना छोराहरुको विवाह आश्रमले गराएर समाजमा पुनःस्थापना गराएको छ ।

आश्रमको यस प्रयासलाई मलजल गर्ने काम विभिन्न संघ संस्था तथा परोपकारी हृदय भएका व्यक्तिहरुले गरेका छन् । हालसम्म इटहरीमा अवस्थित यस आश्रमले कुनै पनि विदेशी संस्थाबाट सहयोग पाएको छैन । वि.स. २०५६ सालमा समाज कल्याण परिषद्बाट समाजसेवा क्षेत्रको सबैभन्दा राम्रो संस्था भनी पुरस्कारसहित सम्मान गरेता पनि नेपाल सरकारबाट हालसम्म पर्याप्त सहयोग पाएको छैन ।