इटहरीः इटहरी उपमहानगरपालिकाले २१ वटा उन्नत बोअर जातका बोका वितरण गरेको छ ।
एक कार्यक्रमका बीच उपमेयर लक्ष्मी गौतमले कृषक समूहरुलाई बोका वितरण गरेकी हुन् । प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदी,वडा नम्बर ३ का वडाध्यक्ष बालकृष्ण बिष्ट र वडा नम्बर १९ का वडाध्यक्ष श्रीनारायण चौधरीको समेत उपस्थितिमा बोअर जातका बोका वितरण गरिएको हो । इटहरी उपमहानगरपालिका पशुपंक्षी शाखा प्रमुख दुर्गा श्रेष्ठका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्र्तगत कृषि फर्महरुलाई १३ वटा बोका ७५ प्रतिशत अनुदानमा वितरण गरिएको हो । अरु बोका बाख्रा पकेट कार्यक्रम लागु भएको इटहरी १८ को सिहंदेवी कृषि शहकारी संस्थामा आबद्ध कृषि समूहलाई वितरण गरिएको हो ।
यसमा कृषकको ३३ प्रतिशत लागत साझेदारी रहेको छ । त्यहाँका कृषकहरुलाई केही दिनभित्रै सय वटा बोअर जातका पाठी वितरण गर्ने कार्यक्रम रहेको शाखा प्रमुख श्रेष्ठले जानकारी दिए । आज वितरित बोकाको मूल्य ५० हजार देखि १ लाख ५० हजार सम्म रहेको छ । गत वर्ष वितरित बाख्रावाट जन्मिएको ६ महिनाको एउटा पाठो ६५ केजीको भएको उनको भनाइ छ ।