इटहरीः नेपालको संविधानमा स्थानीय सरकारले हेरक आर्थिक वर्षको बजेट असार १० गतेभित्र सार्वजनिक गर्नुपर्ने बाध्यकारी व्यवस्था रहेको छ । सोही अनुरुप नेपालमा आर्थिक वर्ष २०७८÷०७९ को बजेट स्थानीय सरकारले सार्वजनिक गरेको छ ।
प्रदेश नम्बर १ को विराटनगर महानगरपालिका र धरान तथा इटहरी उपमहानगरपालिकाले बिहीबार (हिजो) नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । सम्बन्धित पालिकाका उप–प्रमुखहरुले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसार तीनै पालिकाको कुल बजेट आठ अर्ब ३१ करोड २१ लाख रहेको छ । जसमा विराटनगर महानगरपालिकाको बजेटको आकार चार अर्ब १० करोड तीन लाख रुपैयाँ रहेको छ । यस्तै इटहरी उपमहानगरपालिकाको बजेट दुई अर्ब १७ करोड ४५ लाख रुपैयाँ छ भने धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ३ करोड ६४ लाख रुपैयाँ रहेको छ । जननिर्वाचित प्रतिनिधिसहित २०७२ सालमा बनेको स्थानीय सरकारको यो अन्तिम बजेट हो । आफ्नो कार्याकालको अन्तिम बजेट भएकाले अधिकांश पालिकाले आफू अनुकूलको बजेटका लागि राम्रै कसरत गरेको देखिन्छ ।
विराटनगर महानगरपालिकाको बजेट
प्रदेश नम्बर १ कै राजधानी शहर विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि चार अर्ब १० करोड तीन लाख रुपैयाँ बराबरको आय व्ययको विवरण सार्वजनिक गरेको छ । उपमहानगरकी उप–प्रमुख इन्दिरा कार्कीले बिहीबार नगरसभामा प्रस्तुत गरेको बजेटमा ११ प्रतिशत चालु खर्च र ८९ प्रतिशत पुँजीगत खर्चमा विनियोजन गरिएको छ । जस अनुसार चालुतर्फ ४६ करोड ७० लाख ५२ हजार नौ सय २५, पुँजीगततर्फ तीन अर्ब ५८ करोड ३२ लाख ८५ हजार र वित्तीय व्यवस्थातर्फ पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ । उपमहानगरपालिकाले अन्तिम आर्थिक वर्षको बजेटमा पूर्वाधार विकासतर्फ विशेष प्राथमिकता दिइएको छ । पूर्वाधार विकासको लागि मात्र महानगरपालिकाले दुई अर्ब चार करोड ३९ लाख ४८ हजार रुपैयाँ विनियोजन गरेको छ ।
इटहरी उपमहानगरपालिकाको बजेट
प्रदेश १ को आर्कषक शैक्षिक तथा व्यावसायिक गन्तव्य एवम् प्रदेशभरका चौधै जिल्लाको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको इटहरी उपमहानगरपालिकाले हिजो बिहीबार आगामी आर्थिक वर्षको लागि आय व्ययको विवरण (बजेट) सार्वजनिक गरेको छ । लायन्स क्लब पचरुखीको भवनमा नगरसभाको आयोजना गर्दै ल्याइएको बजेट नगरकी उपप्रमुख लक्ष्मी गौतमले प्रस्तुत गरेकी थिइन् । इटहरीमा आगामी आर्थिक वर्षको बजेट दुई अर्ब १७ लाख ४५ हजार रहेको छ । उपमहानगरपालिकाले बजेटमा पूर्वाधार विकास, कृषि क्षेत्रको समुन्नति तथा शिक्षा स्वास्थ्य र लक्षित वर्गका कार्यक्रमलाई प्राथामिकतामा राखेको छ । बहुप्रतिक्षित पर्यटन क्षेत्रलाई भने उपमहानगरले उपेक्षित गरेको छ ।
धरान उपमहानगरपालिकाको बजेट
विशेषतः प्रदेश १ का पहाडी जिल्लाहरुसँग सडक सञ्जालमार्फत् जोडिएको सुनसरीको धरान उपमहानगरपालिकाले पनि आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण सार्वजनिक गरेको छ । बिहीबार नगरसभामार्फत् उप–प्रमुख मञ्जु भण्डारी (सुवेदी)ले दुई अर्ब तीन करोड ६४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी छन् । इटहरी उपमहानगरपालिकाभन्दा भौगोलिक रुपमा ठूलो यस उपमहानगरले इटहरीभन्दा १३ करोड ८१ लाख न्यून बजेट सार्वजनिक गरेको हो । अनुत्पादक क्षेत्रमा बजेट कटौतिको नीति अबलम्बन गरेको उपमहानगरले कोरोना महामारी नियन्त्रण, यसको प्रभाव कम गर्न र युवा तथा लक्षित वर्गको विकासमा खास साचो दिएको पाइएको छ ।