इटहरीः नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त संस्था जीवन विकास लघुवित्त संस्था लिमिटेडले १९ लाख ७७ हजार तीन सय कित्ता सेयर निश्कासन गरेको छ ।
संस्थाका कर्मचारी, सामुहिक लगानी कोष र सर्वसाधारणले भर्न मिल्ने यो सेयर शुक्रबारबाट खुल्ला गरिएको संस्थाले आफ्नो वेबसाइटमार्फत् जानकारी दिएको छ । निष्कासन गरिएका मध्ये ० दशमलव ५ प्रतिशत अर्थात् ३० हजार चार यस २० कित्ता सेयर कर्मचारीको लागि र कुल निष्कासित कित्तामध्ये ५ प्रतिशत अर्थात् ९८ हजार आठ सय ६५ कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको संस्थाले जानकारी दिएको छ । बाँकी ९४ दशमलव ५ प्रतिशत अर्थात् १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणको लागि खुल्ला गरिएको छ ।
प्रतिगोटा एक सयका दरले निष्कासन गरिएको सेयरको कुल मुल्य १९ करोड ७७ लाख रुपैयाँ रहेको छ । असार ११ गते अथात् शुक्रबारबाट खुल्ला गरिएको आवेदन फारम आगामी ५ दिन असार १५ गते बैंकको कार्यालय समयसम्म भर्न सकिनेछ । संस्थाले दिएको जानकारी अनुसार न्यूनतम १० कित्ता भर्न पाइनेछ भने अधिकतम एक हजार कित्तासम्म भर्न सकिनेछ । लघुवित्त क्षेत्रमा अहिलेसम्म खुलेका आइ पी ओमध्ये यो सबैभन्दा बढी आवेदन संख्या भएको आइ पी ओ हो ।
कति कित्ता भर्दा उत्तम हुन्छ ?
संस्थाले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्ता भर्न सक्ने प्रावधान बनाएको छ । संस्थाले प्रावधान निर्धारण गरेपनि अहिले हामी भने १० कित्ता सेयरको लागि मात्र आवेदन दिनु उत्तम हुन्छ । किनभने १० कित्ताको दरले नै सेयर बाँडफाँड गर्ने भए पनि यो आइ पि ओ एक लाख ८४ हजार आठ सय एक जनालाई मात्र पर्छ । नेपालमा २२ लाख बढी आवेदनकर्ता रहेका छन् त्यसैले गर्दा यसमा तपाईँले १० कित्तामा आवेदन दिनु उत्तम हुन्छ ।
जोखिम के छ ?
धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ३० तथा कम्पनी ऐन २०६३ को दफा २३ अनुसार प्रकाशित गरिएको यो आइ.पी.ओ मा लगानी गर्दा सुरुवात नै एक हजारको आसपासमा हुने अनुमान छ । अर्कोतर्फ लगानी गरेकै सेयर डुब्ने वा संस्था टाट पल्टने खतरा पनि साधारण सेयर लागानीकर्तामा हुन्छ । तर, नेपालमा बैंक तथा वित्तीय संस्थाको जोखिम तथा क्रेडिट रेटिङ गर्दै आएको संस्था आईसीआरए नेपाल लिमिटेडले २०७७ साल फागुन १७ गते यो संस्थालाई ‘समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिने तथा यस संस्थामा मध्यम क्रेडिट जोखिम रहने’ उल्लेख गरेको छ । आईसीआरएले यस संस्थालाई ‘ट्रिपल बी माइनस’ रेटिङ दिएको छ । उक्त रेटिङ अवधि यो वर्षको फागुन १६ गतेसम्म लागु हुनेछ । आईसीआरएले यससम्बन्धी व्यवस्था आफ्नो ऐनको दफा २२ को ‘ण’ उल्लेख गरेको छ ।
कहाँबाट आवेदन दिने ?
संंस्थाको कार्यालय मोरङको कटहरी गाउँपालिका वडा नम्बर २ वा आधिकारीक वेवसाइटमा डब्लू डब्लू डब्लू डट जीवन विकास एम.एफ डट कम र एनएमबी क्यापिटल लिमिटेडको कार्यालय नागपोखरी काठमाडौँ वा आधिकारीक वेवसाइट डब्लू डब्लू डब्लू डट एनएमबीसिएल डट कम डट एनपीमा गएर आवेदन वा विवरण पत्र थाहा पाउन र आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा उनीहरुको तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ । यसका साथै सजिलोका लागि सीडीएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन खोली वा मोबाइलमा एप डाउनलोड गरेर सि–आस्बा प्रणालीमार्फत् पनि सेयरका लागि आवेदन दिन सकिन्छ ।