इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रमा उपचाररत दुई जना कोरोना संक्रमित ज्येष्ठ नागरिक पुरुषको उपचारका क्रममा ज्यान गएको छ ।
मृत्यु हुनेमा धरान उपमहानगरपालिका ११ घर भएका ७५ वर्षीय धरान ५ घर भएका ७९ वर्षीय पुरुष रहेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार धरान ११ का पुरुषमा असार ७ गते कोरोना संक्रमण पुष्टि भई १० गते उपचारार्थ प्रतिष्ठानमा भर्ना गरिएकोमा उनको उपचारका क्रममा सोही दिन राति १०ः०५ बजे ज्यान गएको हो । मृतक पुरुष मधुमेह र हाइपर्टेन्सन नामक मानसिक समस्याबाट लामो समयदेखि पीडित रहेको प्रतिष्ठानले जनाएको छ ।
यसैगरी, धरान ५ का पुरुषमा असार १० गते कोरोना संक्रमण पुष्टि भई सोही दिन उपचारार्थ प्रतिष्ठानमा भर्ना गरिएकोमा उपचारका क्रममा आज बिहान ४ः०५ बजे उनको ज्यान गएको हो । मृतक पुरुष मुटुको रोगबाट पीडित रहेको प्रतिष्ठानले जनाएको छ ।