ताप्लेजुङः ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षिका र विद्यालय सहयोगीको तलब १५ हजार पुर्याएको छ ।

तलबमा वृद्धि गरेर गाउँपालिकाले १५ हजार पुर्याएको हो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजानिक गर्दै बिहीबार गाउँपालिकाले बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरी मासिक १५ हजार पुयाइएको जनाएको हो । यस्तै गाउँपालिकाले शिक्षकहरुको क्षमता विकासका लागि आवश्यक तालिम तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । पठनपाठनलाई प्रभावकारी बनाउनका लागि शिक्षकहरुको क्षमता वृद्धि गर्ने योजना बनाइएको गाउँपालिका अध्यक्ष केशर मेन्याङ्बोले बताए ।

गाउँपालिकाभित्रका विद्यालयलाई प्रविधिमैत्री बनाउँदै लगिने र त्यसका लागि विद्यालयहरुमा इन्टरनेटलगायतका विद्युतीय सामग्री जडान गरिने भएको छ । विद्यार्थीको शारीरिक र बौद्धिक क्षमता विकासका लागि विभिन्न खेलकुद कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गर्ने गाउँपालिकाले जनाएको छ । पालिकाको बिहीबार सम्पन्न १० औँ गाउँसभामा आगामी आर्थिक वर्षका लागि ४२ करोड २९ लाख ६८ हजार दुई सय ९० रुपैयाँ बराबरको बजेट प्रस्तुत भएको छ । -रासस