मेचीनगरः सुदुरपूर्वको झापाको मेचीनगर नगरपालिकाले आर्थिक बर्ष २०७८÷०७९ का लागि डेढ अर्बको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

शुक्रबार भएको आठौं नगरसभामा नगर उपप्रमुख मीना उप्रेतिले कुल १ अर्ब ५३ करोड ६३ लाख २९ हजार ३५४ रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तावित बजेटमा आन्तरिक स्रोततर्फ २७ करोड २७ लाख ७२ हजार ६४ रुपैयाँ, संघीय सरकार वित्तीय समानीकरण अनुदानतर्फ २६ करोड ५८ लाख, संघीय सरकार राजश्व बाँडफाँटतर्फ १४ करोड ५८ लाख ६० हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानतर्फ १ करोड ६० लाख ३७ हजार, प्रदेश सरकार राजश्व बाँडफाँडतर्फ १ करोड ६४ लाख १० हजार २९० रुपैयाँ गरी कुल ७० करोड २३ लाख ७ हजार २९० रुपैयाँ आय प्रस्ताव गरिएको छ । त्यस्तै संघीय सरकार सशर्त अनुदान चालूतर्फ ३७ करोड ५१ लाख, सशर्त अनुदान पूँजीगततर्फ ८ करोड ६९ लाख, संघीय सरकार विशेष पूँजीगततर्फ १ करोड ६६ लाख, संघीय सरकार समपुरक अनुदानतर्फ २ करोड ८ लाख गरी कुल ४९ करोड ९४ लाखसमेत गरी कुल १ अर्ब २० करोड १७ लाख ७ हजार २९० को आय उपप्रमुख उप्रेतीले नगरसभामा प्रस्तुत गरिन् ।

यसैगरी प्रदेश नम्बर १ समपुरक अनुदानतर्फ १ करोड, सशर्त अनुदानतर्फ १ करोड ५० हजारसमेत आयमा देखाइएको छ । त्यस्तै नगरपालिकाको गत आर्थिक वर्षको विनियोजित रकम खर्च हुन नसकी आगामी आर्थिक वर्षको मौज्दात रकमको रुपमा रहने गरीको ३० करोड रकमसमेतलाई बजेटमा समावेस गरिएको छ । केही समय ढिला गरी सुरु भएको नगरसभाको उद्घाटन प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तथा पूर्व सूचना तथा सञ्चार मन्त्री राम कार्कीले गरेका थिए । सभामा नगर प्रमुख विमल आचार्यले आगमी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममा अतिथिहरु प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, गोपालचन्द्र बुढाथोकी, संविधानसभा सदस्य तथा मेचीनगरका प्रथम नगर प्रमुख रवीन कोइराला, संविधानसभा सदस्य उषा गुरुङ, नगरका राजनीतिक दलका प्रमुख प्रतिनिधिलगायतले टिप्पणी गरेका गरेका थिए । उद्घाटन कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले गरेका थिए ।