इटहरीः मोरङको विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि चार अर्ब १० करोड तीन लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।
महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीद्वारा नगरसभासमक्ष प्रस्तुत गरिएको बजेटमा चालुतर्फ ४६ करोड ७० लाख ५२ हजार नौ सय २५, पुँजीगततर्फ तीन अर्ब ५८ करोड ३२ लाख ८५ हजार र वित्तीय व्यवस्थातर्फ पाँच करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कुल बजेटको ११ प्रतिशत चालु र ८९ प्रतिशत पुँजीगत खर्च रहने बजेटमा उल्लेख छ ।
बजेटको स्रोत व्यवस्थापनका लागि अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत सङ्घीय सरकारबाट एक अर्ब १९ करोड ५३ लाख, प्रदेश सरकारबाट चार करोड ९० लाख १५ हजार, राजश्व बाँडफाँडबाट एक अर्ब एक करोड ४७ लाख ८३ हजार, आन्तरिक आम्दानीबाट ८३ करोड नौ लाख २५ हजार, अन्य अनुदान तथा ऋणबाट ७० करोड ५५ लाख आठ हजार पाँच सय, सङ्घसंस्थाबाट एक करोड ४४ लाख, जनसहभागिताबाट १० करोड रुपैयाँ जुटाइने उपमहानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाको बजेटले पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । यसका लागि दुई अर्ब चार करोड ३९ लाख ४८ हजार विनियोजन गरेको महानगरले सामाजिक विकासतर्फ एक अर्ब २६ करोड ६९ लाख, आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख, सुशासन तथा वातावरण क्षेत्रमा नौ करोड ३७ लाख ५० हजार खर्च गर्ने भएको छ ।