बेलबारीः मोरङको बेलबारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि १ अर्ब ३५ करोड ७० लाख ४६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
बिहीबार भएको आठौं नगरसभामा उपप्रमुख ढाका कुमारी पराजुलीले १ अर्ब ३५ करोड ७० लाख ४६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तुत बजेट चालु आ.व. को संशोधित बजेटको तुलनामा आगामी आ.व. को लागि २१ करोड ५८ लाख ५७ हजार ४ सय ९३ अर्थात १८ दशमलव ९९ प्रतिशतले बढी हो । आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि प्रतावित बजेट प्राप्तिका स्रोतहरुमा कर, दस्तुर, शुल्क तथा राजश्वबाट प्राप्त हुने आन्तरिक आय १३ करोड ९० लाख ५० हजार अनुमान गरिएको छ । संघीय सरकारबाट १ अर्ब ५७ लाख ४६ हजार, प्रदेश सरकारबाट २ करोड ७८ लाख, विभिन्न परियोजना तथा कार्यक्रममार्फत १० करोड ४४ लाख ५० हजार र नगर विकास कोषबाट ८ करोड बराबरको ऋण प्राप्त हुने अनुमान गरिएको छ ।
प्रस्तुत कुल बजेटको विनियोजन प्रशासनिक खर्च र चालु कार्यक्रम ८७ करोड ६ लाख ९० हजार र पूँजिगत खर्चतर्फ ४८ करोड ४३ लाख ५६ हजार विनियोजन गरिएको छ । सामाजिक विकास कार्यक्रमतर्फ ६२ करोड ४१ लख ६६ हजार, आर्थिक विकास कार्यक्रमतर्फ ७ करोड ६८ लाख १२ हजार, पूर्वाधार विकास कार्यक्रमतर्फ ४५ करोड ४८ लाख ५६ हजार, वन वातावरण र विपद् व्यवस्थापनतर्फ २ करोड २९ लाख २० हजार र सार्वजनिक सेवा तथा क्षमता विकासतर्फ १ करोड ८ लाख ५० हजार विनियोजन गरिएको छ । चालु आ.व.को जेष्ठ मसान्तसम्मको बजेट खर्च चालुतर्फ ६७ प्रतिशत र पूँजिगत तर्फ ३४ प्रतिशत गरी कुल बजेटको ५२ प्रतिशत खर्च भएको उपमेयर पराजुलीले बताइन् ।
समृद्ध कृषि कार्यक्रम, युवा उद्द्मशीलता, निशूल्क थेरापी सेन्टर, एक वडा एक ज्येष्ठ नागरिक चौतारी, एक वडा एक उत्पादन, बेलबारी कला साहित्य प्रतिष्ठानको भवन निर्माण, सञ्चार गृह निर्माण, गरीबसँग नगरपालिका, स्मार्ट कृषि कार्यक्रम, नगर कोभिड अस्पताल निर्माण सञ्चालन, नागरिक दन्त उपहार कार्यक्रम, नेत्रज्योति उपहार कार्यक्रम, प्राविधिक शिक्षामा लगानी, छात्रवृत्ति, एक शिक्षक एक ल्यापटप अनुदान कार्यक्रमलगायत विभिन्न जनमुखी कार्यक्रमहरु यही आउने आर्थिक वर्षमा सम्पन्न गर्ने गरी बजेट विनियोजन गरेको उपमेयर पराजुलीले बताइन् ।