इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले आज प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेटले स्वास्थ्य क्षेत्रको लागि चार करोड रुपैयाँ विनियोजन गरेको छ ।

स्वास्थ्य सेवाको सुधार तथा विस्तारका लागि उपमहानगरपालिकाले विभिन्न कार्यक्रम ल्याएको छ । इटहरी अस्पतालमा नन् इन्भेन्ट्रि भेन्टिलेटर सहितको आईसीयू सञ्चालन गर्ने, बर्थिङ सेन्टरको स्तरवृद्धि गरी शल्यकृयासहितको सेवा प्रवाह गर्ने, प्याथोलोजी ल्याबको क्षमता विस्तार तथा आधुनिकीकरण गर्ने, इटहरी अस्पतालमा डाइलासिस सेवा सुरु गर्नेजस्ता योजना बजेटमा समेटिएका छन् ।

यसका अतिरिक्त वडास्तरमा निर्माण भएका तथा निर्माणका क्रममा रहेका स्वास्थ्य एकाई आगामी वर्षबाट सञ्चालनमा ल्याउने र आधारभूत स्वास्थ्य सेवा वडामै प्रवाह गर्ने उपमहानगरपालिकाले जनाएको छ । नगरभित्रका एक लाख नागरिकलाई आगामी वर्ष स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गर्ने उपमहानगरपालिकाको बजेटमा उल्लेख छ ।