कोभिड १९को जोखिमबाट बच्नका लागि उपल्ब्ध भएको बेलामा सबैलाई खोप लगाउन सुझाव दिइएको छ ।
खोप लगाएकामा भाइरसको सङ्क्रमण हुँदै नहुनेभन्दा पनि गम्भीर कोभिडका लक्षण देखिने सम्भावना कम हुने हुन्छ । कोरोना भाइरसविरुद्धको खोप लगाएका मानिस पनि सङ्क्रमित हुन सक्छन् । एक अध्ययनका अनुसार खोप लगाएपछि सङ्क्रमित भएका व्यक्तिहरूले एउटा सामान्य लक्षण रिपोर्ट गरेका छन् । जोइ कोभिडको लक्षण अध्ययन गर्ने एपमा सङ्कलन गरिएको तथ्याङ्कअनुसार खोप लगाएर पनि भाइरसबाट सङ्क्रमित भएका व्यक्तिमा एक सामान्य लक्षण पत्ता लागेको हो । अध्ययनका प्रमुख अनुसन्धानकर्ता प्रोफेसर टिम स्पेक्टरले खोप लगाएका व्यक्तिमा सङ्क्रमण भएकामा हाच्छ्युँ बढी आउने लक्षण देखिएको जनाएका छन् ।
हाच्छ्युँ आउनु कोभिड १९ को साधारण वा मुख्य लक्षण होइन । तर, अध्ययनअनुसार खोप लगाइसकेका मानिसमा मात्र सामान्यभन्दा बढी हाच्छ्युँ आउनु कोभिडको सङ्केत हुनसक्छ । खोप लगाएमा मानिसमा कुनै समस्याबिना धेरै हाच्छ्युँ गर्न थालेमा घरमा बस्न र कोभिड टेस्ट गर्न प्रोफेसर स्पेक्टरले सुझाव दिएका छन् । यसबाहेक खोप लगाइसकेका मानिस सङ्क्रमित भएमा उनीहरूले हल्का र कम समयका लागिमात्र लक्षणहरू अनुभव गर्नेछन् । -टाइम्स अफ इन्डियाबाट