खोटाङः खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकाले पोषणको अभाव हुन नदिन सुत्केरी र गर्भवती महिलालाई क्याल्सियम चक्की निःशुल्क वितरण गर्न थालेको छ ।

नगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत आमा र बच्चाको स्वास्थ्यलाई ध्यान दिँदै क्याल्सियम चक्की निःशुल्क वितरण कार्यक्रम सुरु गरेको हो । नगरपालिकाका एघारवटै वडाका सबै गर्भवति र सुत्केरीलाई उनीहरूको घरैमा पुगेर क्याल्सियम चक्की निःशुल्क वितरण कार्यक्रम सुरु गरेको नगर प्रमुख इवन राईले बताए । ‘क्याल्सियम चक्की ११ वटै वडाका स्वास्थ्यचौकीमार्फत वितरण भइरहेको छ,’ उनले भने, ‘नगरपालिकाभित्रका पाँच सय ५० गर्भवति तथा सुत्केरीलाई लक्षित गर्दै क्याल्सियम चक्की निःशुल्क वितरणको व्यवस्था मिलाइएको हो ।’ स्वास्थ्यकर्मीकोे परामर्शमा हालसम्म आफैँ किनेर क्याल्सियम चक्की खाइरहेका गर्भवती तथा सुत्केरीलाई यसपल्टदेखि नगरपालिकाले निःशुल्क उपलब्ध गराउन सुरु गरेको नगर स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले बताए । संयोजक घिमिरेका अनुसार एक जना गर्भवतिले सुत्केरी भएको ४५ दिनसम्म २२५ चक्की क्याल्सियम खानुपर्ने हुन्छ । बजारमा प्रतिक्याल्सियम चक्कीको मूल्य औसतमा छ पर्ने गरेको छ ।

जिल्लामा आफ्नो तथा बच्चाको स्वास्थ्यप्रति सचेत गर्भवति र सुत्केरीले क्याल्सियम चक्की किनेर खाने गरे पनि दूरदराजका अधिकांश गर्भवती र सुत्केरी नियमित क्याल्सियम चक्की खानबाट वञ्चित छन् । कतिपयलाई गर्भवति र सुत्केरीलाई क्याल्सियम चक्की खानुपर्ने जानकारी नै नभएको अवस्थामा नगरपालिकाले निःशुल्क क्याल्सियम चक्की वितरण सुरु गरेपछि उनीहरू लाभान्वित भएका छन् । आमा र बच्चाको स्वास्थ्यका लागि नभई नहुने क्याल्सियम चक्कीको अभाव नहोस् र क्याल्सियम चक्कीबाट कोही पनि वञ्चित नहुन् भनेर निःशुल्क वितरणको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि क्याल्सियम चक्की निःशुल्क वितरण कार्यक्रम सुरु गरेको थियो । -रासस