दक्षिण अफ्रिकामा एकैपटक १० बच्चा जन्मिएर विश्वभर चर्चा पाएको खबर झुटो रहेको पाइएको छ ।
जुन ८ मा दक्षिण अफ्रिकाकी ३७ वर्षकी गोसियामे थमारा सिथोले एकै पटक १० बच्चा जन्माएको खबर झुटो रहेको आधिकारिक अनुसन्धानले पत्ता लगाएको हो । एकैपटक १० बच्चा जन्माएको भनिएकी महिलाका केटा साथी अर्थात् जन्मिएका भनिएका बच्चाका बुवा तेबोगो सोतेत्सीले बच्चा जन्मिएको बारेमा जानकारी दिएका थिए । उक्त खबरलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले प्रकाशन गरेपछि चर्चा विश्वभर भएको थियो । समाचारमा ती महिलाले जुन ७ मा स्टिभ बिको एकेडेमिक हस्पिटलमा बच्चा जन्माएको उल्लेख गरिएको थियो ।
उक्त जोडी र बच्चाका लागि चन्दा र सहयोग उठाउनसमेत सुरु भएको थियो । तर, खाउटेङ् प्रान्तका कुनै पनि अस्पतालमा त्यसरी १० वटा बच्चा जन्मिएको अभिलेख नरहेको प्रान्तीय सरकारले जनाएको छ । साथै, थप अनुसन्धानमा स्वास्थ्य परीक्षणको क्रममा ती महिला यसपटक गर्भवतीसमेत नभएको पाइएको छ । सिथोलेमाथि बच्चाहरूबाट आर्थिक लाभ लिन चाहेको आरोप लगाइएको छ । ती महिलालाई अहिले मानसिक स्वास्थ्यसम्बन्धी कानुनअन्तर्गत निगरानीका लागि नियन्त्रणमा लिइएको छ र उनलाई सहयोग उपलब्ध गराइने जनाइएको छ । -बीबीसीबाट