खोटाङः खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले कोभिड–१९ महामारीलाई लक्षित गर्दै मिनी–अक्सिजन प्लान्ट जडान गरेको छ ।

कोरोना सङ्क्रमित बिरामीका लागि आवश्यक अक्सिजन अभाव हुन नदिन राष्ट्रिय आविष्कार केन्द्रको आर्थिक र प्राविधिक सहयोगमा गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा मिनी–अक्सिजन प्लान्ट जडान गरेको हो । प्राथमिक स्वास्थ्य केन्द्रमा एकैसाथ १३ शैय्याका बिरामीलाई सिधै अक्सिजन दिन मिल्ने गरी मिनी–अक्सिजन प्लान्ट जडान गरिएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए । मिनी–अक्सिजन प्लान्टबाट उत्पादन हुने अक्सिजन एकैसाथ आइसोलेसन सेन्टरका छ शैय्या, सामान्य वार्डका छ शैय्या र बर्थिङ सेन्टरका एउटा शैय्याका बिरामीलाई दिन मिल्ने गरी जडान गरिएको छ ।

करिब २० लाख रुपैयाँ बराबरको उपकरण प्रयोग गरेर तयार पारिएको मिनी–अक्सिजन प्लान्टबाट पाइपमार्फत शैय्यामा अक्सिजन पु¥याउने व्यवस्था मिलाइएको छ । खोटाङका १० स्थानीय तहमध्ये ऐँसेलुखर्कमा जिल्लामै पहिलो मिनी–अक्सिजन प्लान्ट जडान गरिएको हो । जिल्ला अस्पताल दिक्तेलमा अक्सिजन प्लान्ट जडान गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बजेट विनियोजन गरे पनि अहिलेसम्म जडान गरिएको छैन । मिनी–अक्सिजन प्लान्ट जडान गर्न राष्ट्रिय आविष्कार केन्द्रबाट दुई गाडी सामग्री लिएर सात जनाको टोली ऐँसेलुखर्क पुगेको थियो । -रासस