इटहरीः विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस विरुद्धको एउटा कम्पनीको खोप लगाएका मानिसले दोस्रो डोज अर्को कम्पनीको लगाउन मिल्ने भनी आफूहरुले प्रमाणित नगरेको प्रष्ट पारेको छ ।
विश्व स्वास्थ्य संगठनको हवाला दिँदै कोभिसिल्ड खोप लगाएकाहरुले दोस्रो मात्रा भेरोसेल खोपको लिए पनि हुने भ्रामक समाचार प्रकाशनमा आएको भन्दै नेपालस्थित संगठनको कार्यालयले विज्ञप्ति जारी गरी ध्यानाकर्षण गराएको हो । कोभिसिल्डको सट्टामा दोस्रो डोज भेरोसेलको लिन सकिने वा नसकिने बारे विस्तृत वैज्ञानिक प्रमाण आवश्यक पर्ने संगठनले प्रष्ट पारेको छ ।
प्रेस विज्ञप्तिको पूर्ण पाठः
काठमाडौं, जुन २३, २०२१
पहिलो मात्रा एस्ट्राजेनेका (कोभिसिल्ड) खोप लगाएका व्यक्तिहरुले दोस्रो मात्रा भेरोसेल खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भनी विश्व स्वास्थ्य संगठनले स्वीकृत गरेको भन्ने गलत समाचारप्रति विश्व स्वास्थ्य संगठन ध्यानाकर्षण गराउन चाहन्छ । विश्व स्वास्थ्य संगठनले यस किसिमको कुनै पनि बयान जारी गरेको छैन र यो झुटो आरोप हो । यस किसिमका गलत सूचनाले जनताको स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउन सक्छ । दुई भिन्न किसिमका खोप लगाउँदाको प्रभावकारिताका बारे सीमित तथ्यांकहरु मात्र उपलब्ध छन् । भिन्न किसिमका खोपको प्रयोग र प्रभावकारिताका विषयमा अध्ययनहरु भइरहेका छन् र एस्ट्राजेनेका (कोभिसिल्ड) खोपको साटो (दोस्रो मात्रामा) भरोसेल खोप लगाउन मिल्छ भन्ने निष्कर्षमा पुग्नका लागि पर्याप्त वैज्ञानिक प्रमाण आवश्यक छ ।