धरानः दुःखले पढेको विद्यालय जहाँ पानी पर्दा कक्षा नै बन्द हुन्थ्यो, अहिले सो विद्यालयको प्रगति देखेर आफुलाइ पनि धेरै खुसी लाग्ने श्री अनन्त शिक्षा ज्योति आधारभूत विद्यालयका पूर्वविद्यार्थी दीपेश चौधरी बताउँछन् । श्री अनन्त शिक्षा ज्योति आधारभूत विद्यालयका पूर्वविद्यार्थी दीपेश चौधरीले ज्ञानोदयबाट एसएलसी परीक्षा प्रथम श्रेणीमा उत्तिर्ण गरी विज्ञान विषय लिएर प्लस टु पास गरिसकेका छन् ।
सुनसरीको धरान ११ नम्बर वडामा पहिले मकालु बस्तिमा सुरुवाति बस्ति बस्ने अवस्थामा २०५७ सालमा श्री अनन्त शिक्षा ज्योति प्रा.वि. स्थापना भएको थियो । बस्तिकै व्यक्तिहरुको पहलमा त्यहाँका विपन्न तथा गरीबहरुको शिक्षा आर्जनका निम्ति उक्त विद्यालय स्थापना भएको थियो । बाँसको टाटीले बारिएको, टिनको छानो र फरुवाको फलाममा रडले हानेर घण्टी बजाउने त्यहाको दुःखद अवस्था अहिले एकादेशको कथाजस्तै भएको छ । विद्यार्थीहरु शौचालय जथाभावी गरिदिने, टाढा बनेको शौचालयमा जान डराएर लुकेर भित्तामा पिसाब गर्ने, लागूपदार्थमा फसेकाहरुको अड्डा र भित्ताभरि अश्लिल शब्दहरुले विद्यालय आउन विद्यार्थी मात्र होइन शिक्षकहरु पनि डराउने गरेको पूर्व सहयोगी शिक्षक तथा हालको व्यवस्थापन समितिका अध्यक्ष फिपाहाङ्ग लिम्बू बताउँछन् ।
स्थानीय सरकारद्वारा निरन्तर अभिभावकको भूमिका
स्थानीय बासिन्दा र व्यवस्थापन समितिको पहलमा तत्कालीन जिल्ला शिक्षा कार्यालय इनरुवाबाट स्थानीय सरकार आउनुभन्दा पहिले नयाँ भवनको निर्माण सुरु भएर अलपत्र अवस्थामा थियो । स्थानीय सरकार आएपछि श्री अनन्त शिक्षा आधारभूत विद्यालयले आफ्नो रुपै फेरेको छ । स्थानीय सरकारको पहलमा विभिन्न दाताहरुको सहयोगमा विद्यालयमा शिक्षकहरुलाई तलब भत्ताको व्यवस्थापन भएको हो । स्थानीय सरकारकै पहलमा एक जना कर्मचारीसरह तलब धरान उपमहानगरपालिकाबाट हालसम्म प्राप्त भइरहेको छ । स्थानीय सरकारले विद्यालयको भवन मर्मत, बाल केन्द्र भवन निर्माण, नयाँ टिनको छानो, नयाँ भवनमा ट्रस्ट लगाइदिने र सुरुवाती अवस्थामै कुर्सी, टेबल सहयोग गरेको धरान उपमहानगरपालिका ११ न वडा अध्यक्ष बाबुलाल लामाले बताए । उनले चौरी भिरालो भएकोले २ तहमा विभाजन गरी चौरीलाई आकर्षक बनाउने र विद्यालयको रुप नै फेरिने कार्य गरेको समेत बताए । स्थानीय सरकारको निकै उल्लेखनीय कार्य उक्त विद्यालयको जग्गा व्यक्ति शीला कार्कीको नाममा रहेकोले स्थानीय र सरकारको निकै लामो संघर्षपछि दानस्वरुप विद्यालयकै नाममा २०७४ साल पौषमा ल्याउन सफल भएको अध्यक्ष लामाले जनाएका छन् । स्थानीय सरकारकै पहलमा नेवा समाज, राउन्ड टेबल, आदिले पनि सो विद्यालयलाई केही राहत सहयोग गरिदिएका थिए । हालै मात्र वडा कार्यलयको सहयोगमा बरण्डा निर्माण गरिदिएको र अतिरिक्त शिक्षकलाई २६ हजार सहयोग समेत गरेको अध्यक्ष लामाले जानकारी दिए । आउने दिनमा विद्यालयलाई प्रविधिमैत्री बनाउन वडाबाट टिभी सहयोग गरेको साथै आउने आर्थिक वर्षमा विद्यार्थीहरुको लागि कम्प्युटर उपलब्ध गराउने समेत अध्यक्ष लामाले बताए ।
विद्यालयको वर्तमान अवस्थाः एउटा पनि दरबन्दी नभएको
हालसम्म पाँच जना प्रधानाध्यापक परिवर्तन भइसकेको विद्यालयमा स्थानीय सरकारले आफ्नो बजेटबाट सकेको सहयोग गर्दा पनि विद्यालयको विकास भने कछुवाको गतिमा भएको वर्तमान प्रधानाध्यापक सुजन राईले बताए । जम्मा सात जना शिक्षकहरु रहेको विद्यालयमा अस्थायी तीन जनाको मात्र सरकारी तलब आउने र अन्यलाई भने सहयोग र अनुदान जुटाएर दिनुपरेको समेत प्रधानाध्यापक राईले बताएका छन् । विभिन्न दाताहरुले दिँदै आएको सहयोग पनि कोभिडसँगै बन्द भएको र सम्झौता सकिएको उनले बताएका छन् । विद्यार्थीहरुको संख्या एक सय ३७ रहेको र नयाँ भर्नासमेत धमाधम भइरहेको छ । अनलाइन शिक्षा प्रणालीलाई समेटेर लैजान विद्यालयलाई निकै गाह्रो हुने भएको प्रधानाध्यापक राई बताउँछन् । सो विषयमा नगरमा घुम्ति शिक्षाको प्रस्तावसमेत पेस गरेको उनको भनाइ छ । विद्यार्थीहरुको आर्थिक अवस्था निकै कमजोर भएकोले अनलाइन शिक्षालाई समेटेर सजिलै लैजान नसक्ने उनले प्रष्ट पारे ।