इटहरीः सुनसरीको धरानमा नेपाल स्काउटको (क्ःक्) एसएमएस कार्यक्रम वडा नम्बर ११ मा सम्पन्न भएको छ ।

नेपाल सरकार, तथा युनिसेफको सहकार्यमा नेपाल स्काउटले विगत ६ महिनाभन्दा लामो समयदेखि एसएमएस (सोसियल डिस्टेन्स, मास्क , सेनिटाइजर) को जनचेतनामुलक सन्देश दिएका छन् । कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै धरानमा १० दिनदेखि निरन्तर स्काउटले जनचेतनामुलक अडियो प्रसारण गर्दै हिँडिरहेका छन् । चेतनामूलक सूचनाहरु लिएर ११ नम्बर वडावासीको घरघर पुगेकोमा वडाध्यक्ष बाबुलाल लामाले स्काउट परिवारलाई धन्यवाद दिएका थिए ।

स्काउट प्रतिनिधि प्रदेश तदर्थ समिति सदस्य हेमन्त भण्डारी र नगर तदर्थ समिति सदस्य सन्तोष कोइरालाको नेतृत्वमा असार ६ र ८ गते स्काउटको एसएमएस कार्यक्रम वडा नम्बर ११ मा भएको हो । कार्यक्रममा वडाध्यक्ष बाबुलाल लामासहित ११ नम्बर वडाका समाजसेवी सुशील सुवेदी, युवा व्यवसायी विकास राई, लगायतको उपस्थिति रहेको थियो ।