इटहरीः मोरङ सुन्दरहरैचा नगरपालिका –६ स्थित डिपु चोकबाट लागूऔषधसहित १ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सोही स्थान ५ का २६ वर्षीय गोपाल विश्वकर्मा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । हिजो दिउँसो २ बजे लागूऔषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले विश्वकर्माले बोकेको ब्यागबाट डाइलेक्स डीसी १०० मिलि लिटरको २५ बोतल, नाइट्राभेट १० –३७५ ट्याबलेट, नाइट्राभेट १० –६० ट्याबलेट र स्पाज्मो प्रोक्सिवोन प्लस १४४ ट्याबलेट बरामद भएको प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । पक्राउ परेका अभियुक्त विश्वकर्मालाई लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।