इटहरीः आज जुन २१ अर्थात् विश्व योग दिवस । विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै छ । हरेक वर्ष जुन २१ तारिखकै दिन योग दिवस हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।
यस वर्ष स्वस्थताका लागि योग भन्ने नाराका साथ योग दिवस मनाइँदै छ । यो नाराले महामारीग्रस्त हालको विश्वपरिवेशसँग सापेक्षता राख्छ । विश्व योग दिवस विश्वभर मनाइने हुँदा यसको पूर्वतयारी तीनदेखि चार महिना पहिले नै सुरु हुन्छ । सबै तयारी पूरा भई आजका दिन विश्वभर ठूलो संख्यामा मानिसहरु एकत्रित भई योग दिवसको आध्यात्मिक इतिहास र महत्वलाई आत्मसात गर्छन् । कोरोना भाइरसको महाव्याधी भौतिक संकट मात्र नभई यसले जनमानसमा गम्भीर मनौवैज्ञानिक सन्त्राससमेत उत्पन्न गराएको छ । महामारीपछि मानवीय गतिविधिमा अपनाउनुपरेको बन्धनकारी मापदण्ड र मानवीय क्षतिका कारण मानिसहरु निराशा, डर, चिन्ताजस्ता मानसिक तनावबाट ग्रस्त हुन पुगेका छन् । यस प्रकारका अतिसय पीडादायी भौतिक तथा मनोवैज्ञानिक संकटबाट योगले मानिसलाई मुक्त गर्न अहम् भूमिका खेल्न सक्ने संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ । योगको उद्देश्य मानसिक र शारीरिक स्वास्थ्यको प्रवद्र्धन गर्नु नै रहेकाले यसबाट मानिसहरु लाभान्वित हुनेछन् ।
संयुक्त राष्ट्रसंघले गत साता जारी गरेको विज्ञप्तिमा ‘महामारीको अवधिमा विश्वभरका मानिसहरुले आफूलाई स्वस्थ र तन्दुरुस्त राख्न र सामाजिक पृथकता वा एक्लोपन तथा नैराश्यबाट बचाउन योगलाई आत्मसात गरिरहेको पाइएको छ । योगाले आइसोलेन तथा क्वारेन्टाइनमा रहेका कोरोना संक्रमितको मनोसामाजिक हेरचाह र पुनःस्थापनामा पनि महत्वपूर्ण भूमिका खेलेको छ । उनीहरुको डर र चिन्ता भगाउन योग सहायकसिद्ध भएको छ ।’ उल्लेख छ ।
सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन्तव्यका क्रममा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउनुपर्ने प्रस्ताव प्रस्तुत गरेपछि विश्वका एक सय ७७ देशहरुको समर्थनमा सो प्रस्ताव पारित भई पृथ्वीमा दिन सबैभन्दा लामो हुने संयोगका साथ आजकै दिन विश्व योग दिवस मनाउन थालिएको हो ।
विश्व योग दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गर्ने गरिएकोमा कोरोना महामारीका कारण यस वर्ष औपचारिक कार्यक्रम भने सरकारले आयोजना गरेन । यद्यपि, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टाछुट्टै सन्देश जारी गरी देशवासीलाई शुभकामना दिएका छन् ।