इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका ९ स्थित पूर्वपश्चिम राजमार्गमा हिजो साँझ भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका ४ बस्ने ३५ वर्षीय दीपु साह र धनकुटाको धनकुटा नगरपालिका ७ पाख्रीबास बस्ने ५० वर्षीय कृष्णबहादुर थापा रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सञ्जीव शर्माका अनुसार साँझ ७ः४० बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको को ३६ प ५९७९ न. को मोटरसाइकललाई तत्काल अल्फाबेट नम्बर नखुलेको ट्रिपरले ठक्कर दिँदा को ३६ प ५९७९ र को २९ प ९५५० नम्बरको मोटरसाइकल एकैसाथ अनियन्त्रित भई तीन जना घाइते भएका थिए । घाइतेहरुलाई उपचारार्थ सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा घाइते थापाको राति ९ः३० बजे र साहको ९ः३५ बजे ज्यान गएको एसपी शर्माले जानकारी दिए ।

सोही दुर्घटनामा परी गम्भीर घाइते भएका धनकुटाको धनकुटा नगरपालिका ७, पाख्रिबास बस्ने २७ वर्षीय भीमबहादुर थापाको बीपी प्रतिष्ठानमै उपचार भइरहेको एसपी शर्माको भनाइ छ । दुर्घटना गराउने ट्रिपर र त्यसका चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।