इटहरीः एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसको परोपकारी संस्था एक्सपर्ट फाउन्डेसनले इटहरी उपमहानगरपालिकालाई तीन थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
आइतबार इटहरी अस्पतालमा एक कार्यक्रमका बीच फाउन्डेसनका अध्यक्ष रोसन कँडेलले ती सामग्री इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीलाई हस्तान्तरण गरेका छन् । यो संस्थाले इटहरी उपमहानगरसँगै देशभर नै अस्पतलाहरुलाई विभिन्न मात्रामा अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने अध्यक्ष कँडेलले जानकारी दिएका छन् । एक महिनाअगाडि नै यी सामानहरु संस्थाले आयात गरको भएपनि विभिन्न कारणले वितरणमा ढिलाइ भएको उनले जानकारी दिएका छन् । संस्थाका प्रतिनिधिले देशभरका विभिन्न अस्पताल र स्थानीय तहहरुमा अनुगमन गरेको र त्यसपछि आवश्यकता महसुस भएका अस्पताल र स्थानीय तहलाई सहयोग गरेको उनले जानकारी दिएका छन् । कसैबाट सहयोग संकलन गरेर आफूहरुले स्वास्थ्य संस्थालाई आवश्यक सामग्री हस्तान्तरण नगरेको उनले जानकारी दिएका छन् ।
‘हाम्रा १५ देशमा पाँच सयभन्दा बढी कर्मचारी छन्’, उनले भने, ‘तिनै कर्मचारी र हाम्रो व्यवस्थापन तहमा रहेका साथीहरुको तलबबाट केही रकम छुट्याएर सहयोग गरेका हौँ ।’ सहयोग सामग्री बुझ्दै मेयर चौधरीले कोरोना महामारीका समयमा अन्य ठाउँमा पनि संस्थाले सहयोग गरेको स्मरण गर्दै अस्पताललाई गरेको सहयोगप्रति आभार प्रकट गरेका छन् । कोरोना संक्रमित तथा अन्य बिरामीहरुको उपचारमा पनि यो उपकरण प्रयोग हुने उनले बताएका छन् । संस्थाले वितरण गरेको यो एउटा कन्सन्ट्रेटरले दुई जना अक्सिजन आवश्यकता पर्ने बिरामीलाई निरन्तर अक्सिजन प्रदान गर्नेछ ।