इटहरीः अवैध लागूऔषध गाँजा ओसारपसार तथा बिक्रीवितरणमा संलग्न ३ भारतीय नागरिकसहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको देवानगन्ज १ का ४० वर्षीय उमेश यादव, धनकुटाको शहीदभूमि गाउँपालिका १ का ३२ वर्षीय रुद्र राई र धरान उपमहानगरपालिका १३ स्थित सुम्निमा चोकका ४५ वर्षीय सूर्य राई रहेको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिए । उनका अनुसार पक्राउ पर्ने भारतीय नागरिकहरुमा भारतको बिहार राज्यस्थित अररिया जिल्लाको फार्बिसगञ्ज का १९ वर्षीय सोनुकुमार यादव, अररिया पिर्पाघाट विशनपुरका २८ वर्षीय जयराम यादव र अररिया नरपथगञ्ज सोनापुरका ३० वर्षीय रन्जित भन्ने प्रिन्स विचितर कुमार रहेका छन् । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ परेकाहरुको साथबाट नेपाली नगद सात लाख १६ हजार ६ सय नेपाली रुपैयाँ, दुई हजार भारतीय रुपैयाँलगायत विभिन्न कम्पनीका मोबाइल थान–६ फेला पारी बरामद गरेको छ ।

प्रहरीले थप अनुसन्धान गर्ने क्रममा लागूऔषध गाँजा ओसारपसारमा प्रयोग गरेको को १च २४१२ नम्बरको मारुति भेन र उनीहरुले विराटनगर महानगरपालिका ६ रामपुरस्थित झाडीमा लुकाइछिपाई राखेको १८ किलो गाँजासमेत फेला पारी बरामद गरेको छ । पक्राउ परेकामध्ये सूर्य राई भेन चालक रहेको खुल्न आएको छ । पक्राउ परेका ६ जनाउपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।