इटहरीः मोरङको विराटनगर महानगरपालिका क्षेत्रका विभिन्न स्थानहरूमा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर ११ का २९ वर्षीय संजय भन्ने अंगत चौधरी र विराटनगर ६ का ३१ वर्षीय सन्तोष दास रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट विशेष प्रहरी परिचालन गरी उनीहरुलाई आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले जानकारी दिए । पक्राउ परेका दासको साथबाट ५५ हजार ७ सय ५० नगद र चौधरीको कोठाबाट कोनिका कम्पनीको टिभी थान–१, कानमा लगाउने झुम्का थान–३, एलसीडी टिभि थान–१, मोवाईल थान–२, फलामे कराई थान–१, फलामे औजार थान–४, चाँदीको सिक्री थान–१ र नेपाली नगद रू ५ लाख ८ हजार ७ सय ३ सहित पक्राउ गरेको प्रवक्ता राईले बताए ।
प्रहरीले थप अनुसन्धान गर्ने क्रममा गत जेष्ठ ९ गते विराटनगर ११ का बिनोद कुमार नुनियाले संचालन गरेको महाविर इलेकट्रिक पसलमा भेन्टिलेशन फुटाई नगद रु. ६५ हजार, गत जेष्ठ ११ गते विराटनगर १५ बैंकरोड का समिर लामाको वाइनआर्ट पसलमा राती झ्याल फुटाई नगद रु. ८९ हाजर १ सय ४५ र २ वाट मोवाईल, त्यसै गरी गत जेष्ठ १६ गते विराटनगर ९ महेन्द्र चौक स्थित अनिस रिजालले संचालन गरेको नेक्स्ट टर्मस् एजुकेसन भिसा सर्भिसेसको ढोका फुटाई धाराको टुटी ७ थान र गत जेष्ठ १५ गते विराटनगर ९ रामजानकी पथका वीरेन्द्रकुमार मण्डलले सञ्चालन गरेको आभुषण ज्वेलर्स सुनचाँदी पसलबाट छतबाट पसलमा प्रवेश गरी सुन २४ ग्राम, चाँदीको पुजाको भाडा ३५० ग्राम, नगद रु. १७ हजार र ग्याँस सिलिण्डर थान १ चोरी गरेको खुलेको छ । पक्राउ परेका अभियुक्तहरु चौधरी र दासलाई चोरी कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।