इटहरीः मोरङको रतुवामाई नगरपालिका १० बाट वनको कर्मचारी तथा पत्रकार हौँ भनी रकम ठगी गर्ने २ जनालाई इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका ६ जुटविकास का ५० वर्षीय दधिराम चौहान र मोरङको सुन्दरहरैँचा नगरपालिका ७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईका अनुसार गत असार ४ गते बेलुका ६ बजे रतुवामाई १० मा रहेको पूर्णबहादुर श्रेष्ठको माईबेनी स–मिलबाट रकम उठाउन आएको बेला प्रहरीले विशेष सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तहरुको साथबाट नगद रु.३२ हजार ९ सय ९५ रुपैयाँ, सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचार पत्र लेखिएको रसिद प्याड थान–१, उठाएको रकम अभिलेख भएको डायरी थान–१, कान्तिपुर पोष्टको बजार ब्यवस्थापक परिचय पत्र थान–१, जनमत साप्ताहिकको सम्वाददाता परिचय पत्र थान–१ र वराह साप्ताहिकको सम्वाददाता परिचय पत्र थान–१ बरामद भएको छ ।

बरामद भएको रकम अभिलेख डायरीमा मोरङका विभिन्न स्थानमा बस्ने २५ जनाबाट जनही १ हजारदेखि ११ हजार पाँच सय रुपैयाँसम्म उठाएको उल्लेख गरिएको छ । उनीहरुले हामी वनको कर्मचारी र पत्रकार हौं कार्यालयमा तेलको आवश्यकता छ सहयोग गर्नुहोस् अन्यथा तपाईहरूलाई काम गर्न अप्ठेरो हुनेछ भन्ने डर त्रास देखाई विभिन्न काठ मिलहरूमा रकम उठाई ठगी गर्ने गरेको प्रारम्भिक अनुन्धानबाट खुलेको छ । पक्राउ परेका अभियुक्तद्वय चौहान र सिग्देलउपर ठगी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।