धरानः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको कोभिड १९ अस्पतालको बाहिर संक्रमितका आफन्तका लागि कुरुवा घरसहित शौचालय र स्नानघर सञ्चालनमा आएको छ ।

धरानका मेयर तिलक राईको पहलमा कोभिड १९ अस्पतालमा उपचाररत संक्रमितका आफन्तलाई बस्नको लागी सहज होस् भन्ने उद्देश्यले मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभाले कुरुवा घरसहितको शौचालय र स्नानघर निर्माण गरिदिएका हुन् । मारवाडी सेवा समितिका अध्यक्ष अनिल अग्रवालले अहिले कोभिडको बेलामा भिडभाड गर्ने अवस्था नभएको जानकारी दिदै कुरुवा घरसहित शौचालय र स्नानघर सञ्चालनमा आएको जानकारी दिए । ‘मेयर साबसँग कुरा भइरहेको छ, कहिले हस्तान्तरण गर्ने भनेर । दाताहरुको नाम शिलालेखमा लेख्ने काम भइरहेको छ, अब चाडै अस्पताललाई हस्तान्तरण गर्छौ, अहिले कोभिडको कारण औपचारिक कार्यक्रम गर्न मिल्दैन, अब मेयर साबको निर्देशन अनुसार सानो अनौपचारिक कार्यक्रम गरेर हस्तान्तरण गर्छौ,’ अध्यक्ष अग्रवालले भने । उनका अनुसार १८ फिट चौडाइ र ८० फिट लम्बाइ भएको कुरुवा घर निर्माण भएको छ भने १८ फिट चौडाइ र १२ फिटा लम्बाइ भएको शौचालयसहितको स्नानघर निर्माण गरिएको छ । उक्त कुरुवा घर, शौचालय र स्नानघर १८ लाख रुपैयाँको लागतमा निर्माण गरिएको अध्यक्ष अग्रवालले जानकारी दिए । ‘संक्रमितका आफन्तहरु कोभिड अस्पतालबाहिर बिजोग तरिकाले बस्नुपरेको गुनासो आएपछि मेयर साबको पहलमा व्यवस्थित कुरुवा घरसहित शौचालय र स्नानघर हामीले निर्माण गरिदिएका हौं,’ उनले भने ।

196386561_516267466089155_4649625524308246100_n

मेयर राईले कुरुवा घरसहित शौचालय र स्नानघर निर्माण भइसकेको जानकारी दिँदै अब करिब दुई हप्ताभित्र हस्तान्तरण गरिने जानकारी दिए । बिरामीका कुरुवाहरुले अस्पतालबाहिर चौरीमा बिजोग अवस्थामा बस्नु परेको गुनासो आएको थियो । अस्पताल प्रशासनले पनि कुरुवा घरका विषयमा आग्रह गरेका कारण निर्माणको पहल आफूले गरेको मेयर राईले बताए । ‘दुई हप्ता अघिदेखि नै कुरुवा घर सञ्चालनमा आएको छ, त्यहाँ कुरुवाहरु बस्न पनि थालेका छन्, शौचालय र स्नानघरचाहिँ चार दिनअघि मात्र सञ्चालनमा आएको हो,’ मेयर राई भने । मेयर राईले सम्पूर्ण भौतिक संरचनाको पाटो पूरा भएको बताउँदै त्यहाँ आवश्यक पर्ने सामग्रीहरु पनि अस्पताललाई हस्तान्तरण गरेपछि उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । कोभिड अस्पतालको बाहिर चौरीमा बिरामीका आफन्तहरु बस्दै आएका थिए । केही दिन अघिदेखि भएको निरन्तरको वर्षातका कारण बिरामीका आफन्तहरु अहिले निर्माण सम्पन्न भएको कुरुवा घरमा सरेर बसेका छन् । बिरामीका आफन्त उर्मिला चौधरीले आफ्नो घर उदयपुरको फत्तेपुर रहेको बताउँदै भनिन्, ‘मेरो बिरामी कोभिड अस्पतालमा विगत दुई हप्तादेखि भित्र छ, हामी बाहिर चौरीमा पालभित्र बसेका थियौं, शौच गर्न पनि समस्या थियो, खुल्ला रुपमा शौच गर्न बाध्य थियौं, अहिले शौचालय बनेको छ, सहज भएको छ ।’ यस्तै, गुनासो प्रदेश नं. २ बाट आएकी अनारदेवीले पनि गरिन् । अनारदेवीले आफ्नो बिरामी अस्पतालभित्र रहेको धेरै दिन भएको बताउँदै बाहिर पालमुनि रात काट्नु परेको सुनाइन् । उनले भनिन्, ‘वर्षातको कारण अहिले हामी निर्माण भएको कुरुवा घरमा बस्न पाएका छौं, कपडा धुन, नुहाउन पनि सहज भएको छ, स्वर्गमा बस्न पाएजस्तो अुनुभूति भएको छ ।’

कुरुवा घरमा कुरुवाहरुले नै पैसा बटुल्दै
कोभिड १९ अस्पतालबाहिर सुविधासम्पन्न शौचालयसहितको कुरुवा घर त निर्माण भयो । कुरुवाहरुलाई समस्या के छ त ? भने शौचालयमा आवश्यक पर्ने सामग्री । धरान १० का रेवत केबुकहाङ लिम्बू र रोसन लिम्बू एक हप्ता अघिदेखि बिरामी भाउजूको पर्खाइमा रहेका छन् । उनीहरुको पहलमा कुरुवाहरुले अहिले निर्माण भएको कुरुवा घरको शौचालयमा प्रतिव्यक्ति ५० रुपैयाँको दरले पैसा उठाएर डिटोल साबुन, सरफ, बाल्टिन, जग र ब्रस लगायतका आवश्यक पर्ने सामग्री खरिद गरेर राखेका छन् । यति मात्र होइन, कुरुवाहरुले (हिजो) शुक्रबार कुरुवा घर वरिपरिको फोहोरमैला पनि सफाइ गरेका छन् ।

197818768_1692360937633785_454829259307625884_n