इटहरीः सप्तकोसी नेपालकै ठूलो नदी हो । अरूण, तमोर, सुनकोसी, भोटेकोसी, लिखु, तामाकोसी, इन्द्रावतिसहितका ७ सहायक नदीको संगमबाट बनेको सप्तकोसीमा वर्षायाम सुरु भएसँगै बाढीको जोखिम सुरु हुन्छ ।
वर्षायाममा यस नदीको ताण्डवले नेपाल मात्र नभएर भारतले पनि धेरै धनजनको क्षति व्यहोर्नुपरिरहेको छ । त्यसैले यसलाई ‘बिहारको दुःख’ उपमा पनि दिइएको छ । विभिन्न ठाउँबाट मिसिएका नदीहरुबाट सुनसरीको चतरामा आएपछि यसले सप्तकोसीको रुप धारण गर्दछ । सुनसरी जिल्लाको साविकका लौकही र हनुमाननगर गाविसको बीचमा बनेको कोसी बाँध पार गरेर यो नदी भारत प्रवेश गर्दछ । भारत प्रवेश गरेपछि यो नदी बिहार राज्यको कर्सेला घाटमा गंगा नदीमा मिल्दछ ।
कुल सात सय २० किलोमिटर लामो यो नदीले नेपालमा सुनसरी, सप्तरी र सिराहलाई बढी प्रभाव पार्ने गर्दछ । यो वर्ष पनि मनसुन सुरु भइसकेको छ । मौसमविद्का अनुसार नेपालमा यो वर्ष गत वर्षको तुलनमा झण्डै दुई साताअगाडि नै मनसुन भित्रिएको छ । अहिले हिमाली तथा उच्च पहाडी भूभागसँगै देशभर नै वर्षा भइरको छ । यसले गर्दा सप्तकोसी नदीका सहायक नदीहरुको बहावको गतिमा पनि वृद्धि भइरहेको छ । सप्तकोसीको बहावलाई रोक्न नसके पनि यसको प्रभाव भने कम गर्न अवश्य सकिन्छ । त्यसको लागि अहिले नेपालतर्फ सरकारले पूर्वतयारी थालेको छ । त्योसँगै सुनसरीमा पनि जिल्ला प्रशासन कार्यालय र त्यहाँ रहेका स्थानीय तहहरु वराहक्षेत्र नगरपालिका, भोक्राहानरसिंह गाउँपालिका र कोसी गाउँपालिकाले पनि आ–आफ्नो क्षेत्रबाट प्रयास सुरु गरेका छन् ।
हामी तीन चरणमै काम गरिरहेका छौँः प्रजिअ ढकाल
सप्तकोसीमा बाढी आउने कुरालाई ध्यान दिएर आफूहरुले तीन चरणमा काम गरिरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएका छन् । सप्तकोसीमा बाढीको समस्या वर्षौँ पुरानो भएकाले आफूहरु त्यसमा केही न केही जानकार रहेको भन्दै त्यसको प्रभाव कम गर्न अग्रसर रहेको उनले जानकारी दिएका छन् । ‘हामी बाढी आउनुपूर्व कसरी कम गर्ने भनेर पुर्वतयारी र विभिन्न तालिम गरिरहेका छौँ’, प्रमुख जिल्ला अधिकारी ढकालले भने, ‘योसँगै क्षति भएको बेलामा राहत, उद्धार र अन्य कामका लागि पनि तयार छौँ । यसका साथै यसको विकासको लागि पनि सकरकारसँग समन्वय गरिरहेका छौँ ।’ सप्ताकोसीको बाढी आउने सम्भाव्यतालाई ध्यान दिएर आफूले सरोकारवालासँग पनि छलफल गरेको उनले बताए । ‘हामीले सुरक्षाकर्मी, रेडक्रस तथा स्थानीय तहका जनप्रतिनिधिहरुसँग पनि यस विषयमा छलफल गरिसकेका छौँ’, उनले भने, ‘उहाँहरुलाई सतर्क रहन भनेका छौँ ।’ सुनसरीका भोक्राहानरसिंह गाउँपालिका, कोशी गाउँपालिका र वराहक्षेत्र नगरपालिकालाई पनि यस विषयमा चनाखो हुन निर्देशन दिइएको उनले बताएका छन् ।
यो अधिक पानी पर्ने मौसम भएकाले अहिले जिल्ला प्रशासन कार्यालयमा विभिन्न चरणमा छलफल भइरहेको उनले बताएका छन् । यसका साथै सप्तकोसीको पानीको बहावको विषयमा निरन्तर ‘अपडेट’ लिइरहेको उनले बताएका छन् । ‘हामीले त्यहाँबाट निरन्तर रुपमा पानीको बहावको विषयमा जानकारी पनि लिइरहेका छौँ’, उनले भने, ‘आवश्यक सूचना पनि संकलन गरिरहेका छौँ ।’ सुनसरीको हकमा चतरामा रहेको पुलबाट सूचना संकलन गरिएको उनले बताए । सोही ठाउँबाट संकलन गरिएको पानीको बहावको गतिबारेको सूचना सुनसरीको लागि प्रभावकारी हुने उनको भनाइ छ । अहिले तामाकोसीमा बाढीको उच्च जोखिम रहेकोले त्यसको प्रभाव सप्तकोसीमा पनि पर्ने भन्दै पूर्वतयारी थालिएको उनले जानकारी दिएका छन् ।
कोरोनाले गर्दा पूर्वतयारी थाल्न सकेका छैनौँः बराहक्षेत्रका मेयर खनाल
प्रमुख जिल्ला अधिकारीले स्थानीय तहलाई सर्तकता र पूर्वतयारी अपनाउन निर्देशन गरेको जानकारी दिए पनि अहिले स्थानीय तह त्यसतर्फ लागिसकेका छैनन् । सुनसरीकै वराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले कोरोना महामारीमा आफ्नो सम्पूर्ण शक्ति केन्द्रित भएकाले पूर्वतयारीका प्रयास सुरु गर्न नसकेको बताएका छन् । ‘त्यस्तो पूर्वतयारी केही गर्न सकेका छैनौँ’, मेयर खनालले भने, ‘बर्खा लाग्नुभन्दा पहिला नै कोरोना आयो यसले गर्दा हामीले बाढीको लागि खासै केही गरेका छैनौँ ।’ तर पनि आफूले बाढी नियान्त्रण र जोखिम कम गर्न गरेका पूर्वअभ्यासहरु नै यो वर्ष पनि लागु गर्ने उनले बताए । ‘यसको विषयमा हामीले नसोचे पनि हामी केही गर्छौँ’, उनले भने, ‘अब यसमा खै के गर्ने र पहिले गरेजस्तै त गर्ने होला नि । बाढीको जोखिममा रहेकालाई जनचेतना फैलाउने । राहतका कुराहरु नै त गर्ने हो नि ।’
अहिले नै पूर्वतयारी थाल्ने तयारी भने उनको छैन । ‘यसको विषयमा हामी हाम्रो नगरसभापछि थाल्छौँ’, उनले भने, ‘हामी यहाँका सुरक्षाकर्मी र जनप्रतिनिधिहरुलाई बाढीग्रस्त क्षेत्रमा पठाएर सचेतना फैलाउने छौँ ।’ सप्तकोसीमा आउने बाढीको विषयमा आफूले निरन्तर अपडेट लिइरहेको उनले बताएका छन् । ‘चतरामा पानी मापन केन्द्र छ’, उनले भने, ‘त्यहाँ पानी कति छ भनेर मापन गरिन्छ । त्यहाँबाट असार, साउन र भदौसम्म हामी निरन्तर जानकारी लिन्छौँ । यो वर्ष पनि लिइरहेका छौँ ।’ त्यहीँबाट आफूलाई आवश्यक सूचना लिँदै जोखिम कम गर्न लागिरहेको उनले जानकारी दिएका छन् । ‘सोही पानी मापन केन्द्रबाट हामी कति क्युफिट पानी छ ? खतरा छ कि छैन ? अहिले केही गर्नुपर्ने अवस्था छ कि छैन ? छ भने कसरी कम गर्न सकिन्छ भनेर निरन्तर जानकारी लिन्छौँ’, मेयर खनालले भने । पर्यटकीय गन्तव्यको रुपमा रहेको श्रीलंका टापु यो समयमा उच्च जोखिममा रहने उनले बताए । बाढी आएमा त्यहाँका नागरिकलाई उद्धार गर्ने, राहत तथा आवसको व्यवस्था गर्न आफू लागिपर्ने मेयर खनालले बताए ।
विपद् व्यवस्थाप कोष स्थापना गरेका छौँः भोक्राहानरसिंह गाउँपालिका उपाध्यक्ष मेहता
सप्तकोसीको प्रभावलाई ध्यान दिएर अहिलेसम्म आफूले खासै केही काम गर्न नसकेको सुनसरीकै भोक्राहानरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनमकुमारी मेहताले जानकारी दिइन् । विपद् व्यवस्थापन कोष स्थापनाबाहेक अन्य काम गाउँपालिकाले अहिले नगरेको उनले बताइन् । ‘अहिले हामीले विपद् व्यवस्थापन कोष स्थापना गरेका छौँ बाढीलाई लिएर’, गाउँपालिका उपाध्यक्ष मेहताले भनिन्, ‘त्यहीबाट हामी राहत दिने, उद्धार गर्ने काम गर्छौँ । यसबाहेक अरु त खै केही गरेका छैनौँ ।’ यसका साथै गाउँपालिकाका विभिन्न ठाउँमा सप्तकोसीका पानी निर्वाध रुपमा प्रवेश गर्न नदिन बाँध बाध्ने काम पनि गाउँपालिकाले गरेको उनको भनाइ छ ।
३५ जनाको टोली ‘स्ट्याण्ड बाई’ छः एस.पी पौडेल
जिल्ला प्रशासन कार्यालयमा केही दिनअगाडि भएको विपद् व्यवस्थापनको बैठकमा प्रमुख जिल्ला अधिकारी ढकालले निर्देशन गरेपछि सुरक्षा निकायले भने पूर्वतयारीका उपाय सुरु गरेको छ । सोही अनुसार सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण सुनसरीले पनि पूर्वतयारी सुरु गरेको छ । गणका प्रमुख तथा प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलका अनुसार अहिले सशस्त्र प्रहरीले ३५ जनलाई ‘स्ट्याण्ड बाई’ राखेको छ । ‘कोसीको बाढीलाई ध्यान दिएर हामीले ३५ जनाको टोली तैनाथ गरेका छौँ’, प्रहरी उपरीक्षक पौडेलले भने, ‘जसमा १० जना कुरिन्टारमा तालिम गरेका अनुभवी छन् भने बाँकी २५ जना सामान्य प्रहरी रहेका छन् ।’ यही टोलीले बाढीले प्रभाव पारेमा राहत तथा उद्धारमा खटिने छ भने अहिले पनि पूर्वतयारीका लागि काम गरिरहेको छ । ‘रवर बोटमार्फत् यो टोली परिचालन हुनेछ’, उनले भने, ‘अहिले उनीहरु आवश्यक औजारसहित गेटमा नै ‘हाई अलर्ट’ का साथ बसिरहेका छन् । जुन समयमा आवश्यक पर्छ, सोही समयमा उनीहरु परिचालित हुनेछन् ।’
साथै सशस्त्र प्रहरी बलले चतरा र हरिपुरमा रहेको आफ्नो प्रहरीलाई ‘हाई अलर्ट’ मा राखेको छ । उनीहरुलाई रातको समयमा पनि बाढीग्रस्त क्षेत्रमा खटाइएको पौडेलले जानकारी दिए । ‘चतरा र हरिपुरमा रहेको टोली बाढी प्रभावित तटिय क्षेत्रमा परिचालन गरेका छौँ’, उनले भने, ‘२४सै घण्टा उनीहरुलाई परिचालन गरेका छौँ । उनीहरुले बाढीसँग सम्बन्तिध सूचना प्रमुख जिल्ला अधिकारी र हामीलाई उपलब्ध गराउँछन् । र, हामी सोही अनुसार काम गर्छौँ ।’ अहिले सप्तकोसीमा पानीको बहाव एक लाखदेखि एक लाख २० हजार क्युसेकको बीचमा रहेकाले अहिले आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ । यो मात्रा खतराको स्तरभन्दा तल रहेपनि आवश्यक पूर्वतयारीमा लाग्न र सजगता अपनाउन उनले सबैमा अनुरोध गरेका छन् ।