बेलबारीः नेपाल स्काउटको ७०औँ स्थापना दिवसको अवसरमा नेपाल स्काउट बेलबारी नगर समितिले वृक्षारोपण गरेको छ ।
बेलबारी नगरपालिकाको प्राङ्गणमा फलफूलका बिरुवाहरु रोपेर स्काउटले स्थापना दिवस मनाएको हो । नगर प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख ढाकाकुमारी पराजुलीले आँप, स्ट्रोबेरी, अम्बा लगायतका बिरुवा रोपेका छन् । बिरुवा रोप्दै स्काउटका संंरक्षकसमेत रहेका नगर प्रमुख सुवेदीले स्काउटको कामको प्रशंसा गरेका छन् ।
नगरपालिकासँगको सहकार्यमा बेलबारी स्काउटले कोरोनाबाट मृत्यु भएकाहरुको शवको व्यवस्थापनसमेत गर्ने गरेको स्काउट बेलबारीका संयोजक बादल देवानले बताए । यसैगरी, सुन्दरहैँचामा पनि वृक्षारोपण गरी स्थपना दिवस मनाइएको छ ।