इटहरीः मोरङको पथरीशनिश्चरे र कानेपोखरीका विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगरसहित ४ जनालाई पक्राउ गरिएको छ ।
हिजो बिहान ६ः३० बजे विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका १ सिनेमाहल छेउबाट सोही स्थानका ३५ वर्षीय नारायण परियार र ३२ वर्षीय कृष्ण दर्नाललाई पक्राउ गरिएको हो १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार प्रहरीले उनीहरुलाई लागूऔषध ब्राउन सुगर १३ ग्राम ८०० मिलिग्राम र तौल गर्ने डिजिटल मेसिनसहित पक्राउ गरेको हो ।
त्यस्तै, बिहीबार राति १०ः३० बजे सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाँउपालिका २ का ३१ वर्षीय हर्क बिष्ट र २७ वर्षीय योगेन्द्र निरौलालाई घरबाट लागूऔषध ब्राउनसुगर २ ग्राम ४०० मिलिग्राम सहित पक्राउ गरेको प्रवक्ता श्रेष्ठले बताए । अभियुक्तहरुउपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीका लागि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।