इटहरीः संघीय सरकारकी महिला, बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री रेनुका गुरुङसमक्ष उनको गृहनगर सुनसरीको रामधुनीका युवाहरुले सरकारले आफूहरुलाई कुनै सहयोग नगरेको दुखेसो पोखेका छन् ।

सरकारले सहयोग गर्नुको सट्टा उल्दै आफूहरुले गरेको काममा समेत बाधा पुर्याउँदै आएको उनीहरुले बताए । राज्यमन्त्री गुरुङ जन्मिएको ठाउँ रामधुनीको ६ नम्बर वडा बक्लौरीमा नै उनी भेटघाटका लागि पुगेकी थिइन् । वडा कार्यालय भवनमा आयोजना गरिएको एक कार्यक्रममा उनलाई त्यहाँ उपस्थित भएका युवाहरुले यस्तो दुखेसो पोखेका हुन् । ‘के युवा झण्डा मात्रै बोक्ने हुन् र ?’, बक्लौरीका युवा रविन भुजेलले प्रश्न गरे, ‘युवाका लागि कार्यक्रम खोइ ?’ उनीजस्तै अन्य युवाहरुले पनि आफूहरुलाई निर्वाचनको समयमा प्रयोग मात्र गर्ने गरेको सुनाए । ‘भोट माग्दा दूई सयको तेल हाल्दिन्छु बाइकमा भन्नुहुन्छ’, अर्का एक युवाले भने, ‘त्यसपछि कहाँ जानुहुन्छ हामीलाई थाहा नै हुँदैन ।’ त्यहाँ उपस्थित अन्य युवाहरुको गुनासो पनि यस्तै थिए । उपस्थित धेरै युवाहरुले खेलकुदमा युवाहरुको लागि विशेष काम गर्न राज्यमन्त्री गुरुङलाई अनुरोध गरेका थिए ।

‘यो वडामा एउटा ग्राउण्ड छ त्यो पनि बारम्बार बनाइरहनुपर्छ’, अर्का एक स्थानीय युवाले भने, ‘यसको दीर्घकालीन मर्मत र एउटा स्टेज बनाइदिनुहुन म तपाईँलाई अनुरोध गर्छु ।’ जवाफमा राज्यमन्त्री गुरुङले यस विषयमा आफूले युवा तथा खेलकुद मान्त्री एकबाल मियालाई बताउने जानकारी गराइन् । ‘यो विषयमा मैले गर्न सक्ने गर्छु’, उनले भनिन्, ‘माननीय खेलकुद मन्त्री एकबाल मियालाई यस विषयमा म जानकारी गराउँछु ।’ साथै उनले यो स्थानीय समस्या भएकाले रामधुनी ६ का वडाध्यक्ष हेमनारायण राजधामीलाई युवाहरुको समस्या सम्बोधन गर्न निर्देशन दिइन् । ‘युवाहरुले यहाँ मैदानमा पानी नजम्ने बनाउन र स्टेज बनाउन भनेका छन् । यसलाई वडाबाट पनि निराकरण गर्न सकिन्छ । त्यसैले म वडाध्यक्षज्यूलाई सम्बोधन गर्न अनुरोध गर्छु’, उनले भनिन् ।

आफू नेपाल सरकारको राज्य मन्त्री भएकाले एउटा मात्र ठाउँको समस्या सम्बोधन गर्न नभएर देशभरकै समस्या सम्बोधन गर्नुपर्ने उनले बताइन् । साथै अन्य ठाउँलाई भन्दा यस ठाउँको विकासको लागि आफूले प्रयास गरिरहेको र आगामी दिनमा पनि गर्ने बताइन् । ‘उहाँहरुले (वडाध्यक्ष) एउटा मात्र वडा हेर्दा पुग्छ । हामीले त देशलाई नै हेर्नुपर्छ । अहिले नेपालमा सात प्रदेश ७७ जिल्ला अनि सात सय ५३ वटा स्थानीय तह छन् । त्यसमा वडाहरुको कुरा गर्ने हो भने ६ हजार आठ सय ४८ वटा छन् । यी सबै हाम्रो दायित्वभित्र पर्छन् । त्यसैले हामीले सबैतिर हेर्न सक्दैनौँ’, उनले भनिन् ।