इटहरीः आफू निर्वाचित भएपछि पटकपटक आफ्नै वा परिवारका सदस्यको संलग्नता गराएर वडाको बजेटमा मनोमानी गरेको आरोप लागेकी सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ६ कि महिला सदस्य लक्ष्मी चौधरीलाई वडा कार्यालयले स्पष्टिकरण सोधेको छ ।

‘हामीले उहाँलाई पत्र काटेर उठेका प्रश्नको कसरी सम्बोधन गर्नुहुन्छ भनेर सोधेका छौँ’, वडाध्यक्ष हेमनारायण राजधामीले भने, ‘त्यसको जवाफ हामीले लिखित रुपमा मागेका छौँ ।’ लिखित रुपमा लक्ष्मीले बुझाएको जवाफ चित्त नबुझे आवश्यकता अनुसारको कारबाही गरिने पनि उनले जानकारी दिएका छन् । शुक्रबार वडावासीले आफ्ना श्रीमानलाई वडाबाट बनेको पुल निर्माण समितिको अध्यक्ष बनाएको र वडाबाट अनुदानमा आएको बोका आफ्नै जेठाजुलाई दिएको भन्दै वडा कार्यालयमा नै पुगेर लक्ष्मीलाई स्पष्टिकरण सोधेका थिए ।

वडावासीले आफूहरुलाई लक्ष्मीले चितबुझ्दो जवाफ नदिएको भन्दै आवश्यक कारबाही गर्न वडाध्यक्ष राजधामीलाई माग गरेका थिए । त्यसैकारण लक्ष्मीलाई वडाले स्पष्टिकरण सोधेको हो । वडा कार्यालयमा पटक पटक आफूलाई जोगाउने प्रयत्नमा लक्ष्मी लागेपछि स्थानीयले उनीविरुद्ध नाराबाजी गर्दै राजीनामाको मागसमेत गरेका थिए ।