इटहरीः इलाका प्रहरी कार्यालय इटहरीका पूर्वप्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीसहित ६ जना प्रहरी ट्रकको ठक्करबाट घाइते भएका छन् ।

चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गतको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित गाईघाटमा मालवाहक ट्रकको ठक्करबाट जीपमा सवार प्रहरी प्रमुख (एसपी) अधिकारीसहित ६ जना प्रहरी घाईते भएका हुन् । नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत निर्माणधीन पुल तथा सडकको अवस्थाका बारेमा अनुगमन गरी फर्किएको प्रहरीको बा २ ज ३४७२ नम्बरको जीपलाई काठमाडौंतर्फ गइरहेको ना ६ ख ६०११ नम्बरको मालवाहक ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट प्रहरीको गाडीमा सवार सबै प्रहरी घाइते भएको र उनीहरुको अहिले पुरानो मेडिकल कलेजमा उपचार भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।

sp om1

घाइते (एसपी) अधिकारीको टाउको, मुख र हातमा चोट लागेको छ भने, अन्य बाँकी ५ जना प्रहरीलाइ समेत चोट लागेको छ । घाइतेहरुको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट प्रहरीको जीपको अगाडिको भाग पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने ठक्कर दिने गाडी र चालक चितवन प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । एसपी अधिकारी इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी प्रमुख (डीएसपी) को रुपमा तीन वर्षअघि काम गरेका थिए ।