धरान: सुनसरीको धरान उपमहानगरपालिकाले कृषकहरुलाई कालो बंंगुरको पाठा–पाठी निःशुल्क वितरण गरेको छ ।

२५ जना कृषकहरुलाई प्रतिव्यक्ति ४ वटाका दरले १०० वटा कालो बंगुरको पाठा–पाठी वितरण गरेको हो । धरान १३ स्थित कृषि उपज बजारमा आज एक कार्यक्रमको आयोजना गर्दै धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कृषकहरुलाई कालो बंगुरको पाठा–पाठी वितरण गरेका हुन् । मेयर राईले कृषकहरुलाई उपयुक्त खोर बनाउन सुझाव दिँदै बंगुरको पाठा–पाठी लगेर मास्न नहुने बताए । कृषकहरुलाई प्राविधिक ज्ञान र सहयोग रहने समेत मेयर राइले जानकारी दिए । बेला बेलामा कृषि शाखाका प्राविधिकहरुलाई बोलाएर परामर्श लिन पनि मेयर राईले आग्रह गरे । धरान उपमहानगरपालिकाले प्रत्येक महिना अनुगमन पनि गर्ने मेयर राईको भनाइ थियो । अनुगमनमा दिइएको बंगुरको पाठा–पाठी खोरमा नभेटेको खण्डमा कारबाही पनि हुने उपमहानगरपालिकाले बताएको छ ।

मेयर राईले पशुपालनबाट धेरै फाइदा लिन सकिने बताउँदै धरान उपमहानगरपालिकाले कालो बंगुरलाई प्रवद्र्धन गर्ने उद्देश्य लिएको बताए । उनले धरान उपमहानगरपालिकाले कालो बंगुरको प्रर्वद्धन गर्ने, ऐन कानुन बनाउने साथै तीनपाने रक्सीलाई पनि प्रवद्र्धन गर्ने कुरा अघि बढिरहेको बताए । कृषकहरुलाई इटहरीबाट बंगुरको पाठा–पाठी ल्याएर वितरण गरिएको हो । अर्को वर्ष वितरण गर्दा धरानमै उत्पादन भएको बंगुरको पाठा–पाठी वितरण गर्ने उपमहानगरपालिकाले उद्देश्य लिएको छ । धरान उपमहानगरपालिकाको पशु शाखाका अनुसार यसभन्दा अघि २५ जना कृषकहरुलाई एक सय वटा बंगुरको पाठा–पाठी वितरण गरिएको थियो । यस्तै, दोश्रो चरणअन्तर्गत आज धरान वडा नं. ६ चौकीडाँडा बंगुर पालन कृषक समुह, वडा नं. ४ का खैरेनीटार बंगुर पालन कृषक समुहका २५ जना कृषकलाई छनौट गरेर एक सय वटा बंगुरको पाठा–पाठी वितरण गरिएको हो । यस्तै, पहिलो चरणअन्तर्गत पत्रंगबारी बंगुर पालन कृषक समुहका छुटेका ५ जना कृषकलाई पनि आज बंगुरको पाठा–पाठी वितरण गरिएको पशु शाखाले जनाएको छ ।